– विमल योगी
काठमाडौं, १२ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन भए निर्वाचनमा जाने बताएको छ । र, वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
मंगलबार अपराह्न प्रधानमन्त्री प्रचण्डको आह्वानमा बालुवाटारमा बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसवादी दलको बैठकमा मोर्चा संविधान संशोधन गरेर निर्वाचनमा जान तयार देखिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका बारेमा छलफल भएको बताए । ‘संशोधन प्रस्ताव पारित भएपछि हामी निर्वाचनमा जान तयार छौं ।’
निर्वाचनमा जाने त भन्नुभयो स्थानीय निर्वाचन वा स्थानीय तहको पहिला कुन निर्वाचन गर्ने हो भन्ने पत्रकारको प्रश्नमा महतोले अगाडि भने– ‘त्यस बारेमा छलफल चलिराखेको छ । वातावरण बनेपछि हामी निर्वाचनमा जान्छौं ।’
एमालेले संसद अवरोध गरिराखेको छ संशोधन कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा महतोले भने– ‘त्यो सरकारले गर्ने कुरा हो । एमालेले संसद अवरुद्ध गर्नुहुन्न् । संसदीय र लोकतान्त्रिक प्रक्रियाबाट चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
उनले संशोधन प्रक्रियामा छलफल चलिराखेको भन्दै छिट्टै एमाले पनि सहमतिमा आउने दाबी गरे ।
तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठीले वार्ता सकारात्मक भएको बताए । ‘वार्ता सकारात्मक भयो । मुलुकलाई निर्वाचनपितर लैजानुपर्छ । त्यसका लागि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ,’ उनले भने ।
संसद चलिराखेको छैन् प्रस्ताव कसरी अगाडि बढाउनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने– ‘एमालेजस्तो पार्टीले संसद अवरोध गर्नुहुँदैन् । लोकतान्त्रिक मुल्य मान्यतालाई ध्यान दिनुपर्छ । यदि एमालेले राष्ट्रघाति भन्छ भने त्यसका लागिसंसद चल्न दियोस् र, त्यसको रेकर्ड संसदमा गराओस् । एमालेले संसद सूचारु गरोस भन्ने हाम्रो आग्रह हो ।’
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत मधेसी मोर्चाका प्रमुख नेताहरु सहभागी थिए ।












प्रतिक्रिया