१९ कार्तिक २०८३, बिहिबार

१० जना ठेकेदार विरुद्ध अनुसन्धान सुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ११ पुस । अवैध जडिबुटी संकलन गरेको आरोपमा जिल्ला वन कार्यालयले १० जना ठेकेदार विरुद्ध अनुसन्धान सुरु गरेको छ । कार्यालयले मोहन कुमार छन्त्याललाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान सुरु गरेको जिल्ला वन अधिकृत विसेन्द्रराज सुवेदीले बताए ।

इलाका वन कार्यालय कोल्टीले मंसिर २६ गते कोल्टी र दानसाँघु बजारबाट १ करोड ७९ लाख बढी मूल्यको अवैध जडिबुटी बरामत गरेको थियो । बिशेष सुराकीको आधारमा अवैध जडीबुटी बरामत गरिएको हो ।

प्रहरीले २७ हजार केजी जटामसि, १ सय केजी चिराईतो, र ८० केटी कटुकी गरी २८,१८० केजी अवैध जडिबुटी बरामत गरेको छ । वन कार्यालले ९ हजार ७ सय केजी जडिबुटी संकलनको अनुमति दिएकोमा ठेकेदारहरुले चार गुणा बढी ३६ हजार ७ सय केजी अवैध जडिबुटी संकलन गरेको देखिएको छ ।

संकलनमा संलग्न १० जना ठेकेदार विरुद्ध अनुसन्धान सुरु गरिएको वन अधिकृत सुवेदीले बताए । अनुसन्धानका लागि मंगलबार टोली कोल्टी जाने भएको छ । वन कार्यालयले ठेकेदार सुतबहादुर शाही, बिर्ख भण्डारी, धनबहादुर छन्त्याल, विष्णु प्रसाद सञ्ज्याल, मंगल थापा, बिर्ख रावल, गणेश रावल, राजेन्द्र शाही, नविन कुमार शाही, दिपक रेग्मी विरुद्ध अनुसन्धान सुरु भएको छ ।

अवैध संकलनमा संलग्न मध्ये कोल्टीका दिपक रेग्मीले सबैभन्दा बढी ४ सय केजी अनुमति दिएकोमा ७ हजार केजी संकलन गरेको देखिएको छ । त्यस्तै कोल्टीका नविन कुमार शाहीले १ हजार केजी अनुमति दिएकोमा ४ हजार केजी अवैध संकलन गरेका छन् । हुम्लाका गणेश रावलले ४ सय केजीको अनुमति लिई ५ हजार केजी संकलन गरेका छन् । उनले अनुमति नै नलिई ८० केजी कटुकी पनि संकलन गरेका छन् ।

जुकोट ४ का सुरत बहादुर शाही १ सय केजी अनुमति लिई ३ हजार केजी संकलन गरेका छन् । बिच्छ्याका विर्ख भण्डारीले ८ सय केजी अनुमति लिएकोमा ३ हजार केजी अवैध रुपमा संकलन गरेका छन् । हुम्लाका धनबहादुर छन्त्यालले ५ सय केजीको अनुमति लिएकोमा १ हजार ५ सय केजी अवैध रुपमा संकलन गरेका छन् ।

कोल्टीका विष्णु प्रसाद सञ्ज्यालले ८ सय केजीको अनुमति लिई १५ सय केजी अवैध संकलन गरेका छन् । पाण्डुसैनमा मंलन थापाले ४ सय केजीको अनुमति लिई २५ सय केजी अवैध संकलन गरेका छन् । यस्तै हुम्लाका राजेन्द्र शाहीले अनुमति नै नलिई १२ सय केजी अवैध जटाममासी संकलन गरेका छन् । यी १० जना विरुद्ध मुद्दा दर्ता गर्ने तयारी वन कार्यालयले गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरी निरीक्षक जगदिस भट्ट नेतृत्वको टोलीले उक्त अवैध जडिबुटी बरामत गरेको थियो । जडिबुटी वन कर्मचारी र ठेकेदार बीच पैसा बार्गेनिङमा कुरा नमिले पछि रहस्य बाहिर आएको श्रोतको दाबी छ । सुरुमा वन कार्यालयले नदेखे झै गरेपनि चौतर्फि आलोचना पछि मात्र समात्न बाध्य भएको थियो ।

जडीबुटी विमान स्थल कोल्टीको बाटो हुँदै नेपालगञ्ज लैजाने तयारी गरिएको थियो । मंसिर २६ गते बरामत गरिएको र ठेकेदारको पहिचान भएपनि वन कार्यालयले १५ दिन पछि मात्र अनुसन्धान सुरु गरेको छ । वन अधिकृत विसेन्द्रराज सुवेदीले आन्तरिक रुपमा ठेकेदारको बचाउन गर्ने गरेको रहस्य खुलेको छ ।

उनले सूचना माग्दा समेत नदिने, कागज प्रक्रिया ठेकेदारसँग भएको स्वयम आफैले दाबी गर्ने गरेका छन् । मार्तडी क्षेत्रका वनको अनुमति लिएर बिच्छ्या, रुगीन, दहकोटमा अवैध रुपमा संकलन गर्ने गरेको पाईएको छ । जिल्लाबाट ६५ बढी प्रजातिका जडिबुटी संकलन गर्न पाउने अधिकार वन कार्यालयले दिएको छ ।