काठमाडौँ, १० पुस । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले विश्व कम्युनिष्ट आन्दोलनका नेता माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अगाडि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
एकसय चौबिसौँ माओ दिवसका अवसरमा अध्यक्ष वैद्यले आज प्रेस विज्ञप्ति जारी गर्दै माओको विशेष सम्मान तथा संस्मरण गर्र्दै विश्व सर्वहारा वर्ग, नेपाली जनसमुदाय, सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभचिन्तकप्रति केन्द्रीय समितिको तर्फबाट शुभकामना व्यक्त गर्नुभएको छ ।
आज विश्व र नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम प्रबलरुपमा बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ । विश्व र नेपालमा पनि क्रान्तिले गम्भीर धक्का खाएको यस स्थितिमा नेपालमा क्रान्तिलाई अगाडि बढाउनेबारे गम्भीर प्रकृतिका चुनौती पैदा भएको विज्ञप्तिमा उल्लेख छ ।
आजको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण तथा ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउनु र क्रान्तिकारी कार्यदिशालाई समृद्ध तुल्याउँदै नयाँ जनवादी क्रान्तिको तयारी गर्नु रहेको अध्यक्ष वैद्यले बताउनुभएको छ । रासस












प्रतिक्रिया