काठमाडौं, ९ पुस । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’ का सचिव टाङ्ग लियाङ्ग चीले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गर्नुभएको थियो ।
उक्त टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद्) का अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका वरिष्ठ इन्जिनियर फाग जुन लगायत दूई दर्जन चिनियाँ विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारहरुको बारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक समृद्वि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रले गर्न सक्ने विश्वास व्यक्त गर्नुभयोे ।’

चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिव चीले ‘चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने विश्वास व्यक्त गर्नुभयो ।’
यसअघि चेन्दुका मेयर समेत रहेका टाङ्ग लियाङ्ग ची काठमाडौं महानगरपालिका र चीनको सिचुवान प्रान्तको सदरमुकाम चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापनाका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्न गत शुक्रबार नेपाल भ्रमणमा आउनुभएको थियो ।
चन्द्रागिरि हिल्सबारे
काठमाडौंको दक्षिण – पश्चिममा अवस्थित चन्द्रागिरि डाँडा धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाईलाई लम्ब्याउने उद्देश्यले यस डाँडामा चन्द्रागिरि हिल्स लिमिटेड स्थापना भएको हो । समुद्री सतहबाट करिव १, ५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरि फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘ भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ । म्यानुअल बाल उद्यान, भ्यु टावर रेष्टुरेन्ट र बहुउद्देश्यीय हल सहित निर्माण गरिएको चन्द्रागिरि डाँडाबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवा हिमाल एवं अन्य हिमश्रृङ्खला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ भने चन्द्रागिरि डाँडाको दक्षिणी भेगका टिस्टुङ्ग, फाकेल, चित्लाङका रमणीय गाउँहरू स्पष्ट रूपमा नियाल्न सकिन्छ । अपांङ्ग मैत्री भौतिक संरचना यहाको अर्को विशेषता हो ।

गत साउन २४ गतेबाट व्यवसायिक संचालनमा आएको चन्द्रागिरि केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मंसिर ३० गते समुद्घाटन गर्नुभएको थियो ।
विश्वविख्यात केबलकार निर्माता अष्ट्रियन कम्पनी डोप्लमेयरको प्रविधि जडित चन्द्रागिरि केबलकारले प्रतिघण्टा एक हजार जनासम्म यात्रु बोक्ने क्षमता राख्दछ । केबलकार संचालनमा आएदेखि २०७३ मंसिर मसान्तसम्म २ लाख २५ हजार जनाले केबरकारको यात्रा गरेर भालेश्वर माहादेवको दर्शन गरिसक्नु भएको छ ।

















प्रतिक्रिया