– झलक पाली
डोटी, ८ पुस । सुदूरपश्चिमको कञ्चनपुरका पत्रकार स्वर्गीय कर्ण बोहराकी श्रीमती ममता बोहराको दुवै किड्नी फेल भएपछि उपचारमा समस्या आएकै बेला डोटीका एक २६ वर्षे युवाको पनि दुवै किड्नी फेल भई समस्या उत्पन्न भएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालीका ४ जिरो प्वाईन्टका युवा भरतबहादुर थापाका दुवै किड्नी फेल भएका हुन् । पारिवारिक अवस्था निकै कमजोर भएका थापाका दुवै किड्नी फेल भएपछि उनको उपचारमा समस्या देखा परेको स्थानीय जयबहादुर शाहीले बताए ।
नेपालगञ्ज मेडिकल कलेजका डक्टर गोपाल सागर डि.सि.ले यहि पौष १ गते उनलाई थप उपचारका लागि रिफर गरेको छ । डक्टरको सिफारिसमा उनको उमेर ३० वर्ष लेखिएको भए पनि वास्तविक उमेर २६ वर्ष भएको बिरामी थापाले बताए ।
बुबा जीत बहादुर थापा र आमा धनादेवीको कोखबाट जन्मिएको करिब डेढ वर्षको उमेरमा उनकी आमाले डोटीकै बर्छैन–८ खड्यौलीमा अर्कै श्रीमानसँग पोईल गएपछि उनलाई पनि साथमै लगेको उनले सुनाए । तर वि.सं. २०६४ मा उनले बुबा जीत बहादुरबाटै वंशजको नाताले नागरिकता बनाएको उनका सहोदर दाजु गोरख बहादुर थापाले जानकारी दिए ।
उनका बुबाको समेत करिब २ वर्ष पहिले जीपको ठक्करबाट खुट्टा भाँचिएको र हाल पनि खुट्टाको घाउ पाकेर समस्या बल्झिएको भरतका दाजु गोरख थापाले बताए । उनले भने–‘बुबाको खुट्टाको घाउ पाक्ने समस्या भएकै बेला भाईको दुवै मृगौला फेल भईदियो । अब कसरी उपचार गर्ने ? आफैलाई लाउन खान समस्या छ ।’ त्यसैले सबैले सहयोग गरिदिनका लागि उनले अपील पनि गरेका छन् । सहयोगका लागि बिरामी भरत थापाको मोबाईल नं. ९८६८५३०८५६ मा र दाजु गोरख थापाको मोबाईल नं. ९८६८८९३०८९ सम्पर्क गर्नुहुन पनि अपील गरेका छन् ।
दुवै मृगौला फेल भएका थापाको आर्थिक अवस्था कमजोर भएकोले उनको निःशुल्क उपचारमा सहयोग गरिदिन भन्दै दिपायल सिलगढी नगरपालीकाले पनि सिफारिस गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीमा सचिवालय रहेको विपन्न नागरिक सहायता समितिले भने बिरामीको मृगौलाको अब उपचार गर्ने डक्टरले सिफारिस गरिदिएमा समितिले पनि निशुल्क उपचारका लागि सहयोग गरिदिनका लागि सिफारिस गर्न मिल्ने प्रावधान रहेको जनाएको छ ।
उनको उपचारका लागि उक्त समितिको सिफारिस कुरिरहनु नपर्ने र उपचारमा संलग्न हुने डक्टरको सिफारिस अनुसार विपन्न नागरिक सहायता समितिले पनि सहजै सिफारिस बनाई सघाउने जिल्ला स्वास्थ्य कार्यालय डोटीका जन स्वास्थ्य निरिक्षक रमेश मलासीले जानकारी दिए ।













प्रतिक्रिया