१९ कार्तिक २०८३, बिहिबार

मलाई कालोमोसो दल्ने अवोध कारिन्दालाई छोडिदिनूः लोकमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई कालोमोसो दल्ने युवालाई रिहा गर्न आग्रह गरेका छन् ।

शुक्रवार विज्ञप्ति जारी गर्दै कार्कीले आफूलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दल्ने दुई युवालाई अवोध कारिन्दा भन्दै रिहा गर्न प्रहरी प्रशासनसमक्ष आग्रह गरेका हुन् ।

विप्लव माओवादी निकट विद्यार्थी संगठनका दुई केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्रबहादुर बुढाले लोकमानमाथि हातपात गर्दै विहिबार सर्वाेच्च अदालत परिसरमै कालोमोसो दल्ने प्रयास गरेका थिए । लगत्तै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

लोकमानले सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको भने सराहना गरेका छन् ।

‘केही महिनायता आफ्नाविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदिएकाले पक्राउ परेका ती अबोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

आफूलाई कालोमोसो दल्ने ती युवा कसैका गोटीमात्रै भएको र आफूलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्रै बुझेको उल्लेख गर्दै कार्कीले भनेका छन्– ‘हिरासतमा लिइएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटीमात्र हुन् र मलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यन्वयन गर्ने कारिन्दाका रुपमा मात्रै मैले उनीहरुलाई बुझेको छु ।’