काठमाडौं, ८ पुस । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न बोलाइएको बैठकमा मधेसी मोर्चाका शीर्ष नेताहरू अनुपस्थित भएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चिन्तित बनेका छन् ।
बिहीबार काठमाडौंको तीनकुनेस्थित आफ्नै पार्टी मुख्यालयमा बोलाइएको गठबन्धनको बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादवसहितका शीर्ष नेताहरू अनुपस्थित रहेको उच्च स्रोतले जनाएको छ ।
संविधान संशोधन र अहिलेको राजनीतिक परिस्थितिमा समीक्षा गर्न भन्दै गठबन्धनका संयोजक समेत रहेका यादवले बैठक बोलाएका हुन् । तर मधेसी मोर्चामा आवद्ध सात दलमध्ये छ दलका शीर्ष नेताहरू बैठकमा कुनै एजेन्डा छैन भन्दै नआएका हुन् ।
बैठक सक्किने बेला अध्यक्ष यादवले संविधान संशोधन विरुद्ध एमालेले चलाइरहेको राष्ट्रियताको आन्दोलनलाई प्रतिगामीभन्दै निर्णय गराएको स्रोतको भनाइ छ ।
‘बैठकमा कुनै एजेन्डा थिएन । शीर्ष नेताहरू कोही पनि आएनन्’, स्रोतले भन्यो, ‘बाहिर मिडियामा के भन्ने भनेर प्रश्न आएमा एमालेको आन्दोलन प्रतिगामी हो भनेर भन्नु पर्छ भन्दै नेताहरू निस्किएका हुन् ।’
बैठकमा एमालेको आन्दोलनको प्रतिकार गर्नेदेखि राष्ट्रियताको नाममा मधेसी जनतालाई धोका दिएकासम्म कुरा उठेको स्रोतको भनाइ छ ।












प्रतिक्रिया