
– सीताराम चौधरी
चन्द्रौटा(कपिलवस्तु), ७ पुस । जनताको भावना विपरीत प्रचण्ड सरकारले रातारात दर्ता गराएको संशोधन प्रस्ताव प्रदेशबासीलाई कदापी स्वीकार्य नभएको संयुक्त संघर्ष समिति संयोजक एवं नेकपा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताएका छन् ।
सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ताको माग गर्दै कपिलवस्तुको चन्द्रौटामा विहीबार आयोजित विशाल विरोध सभालाई सम्बोधन गर्दै संयुक्त संघर्ष समिति संयोजक पोख्रेलले यस्तो बताएका हुन् । प्रदेश नम्बर ५ मा एक महिनादेखि बन्दहडताल तथा विरोध हुँदा पनि सरकारका प्रधानमन्त्री, गृहमन्त्री संवेदनशील नभएको पोख्रेलले आरोप लगाए । सरकारले पहाड, तराई टुक्राउने खेल गरिरहेको आरोप लगाउँदै ५ नम्वर प्रदेश टुक्राउने प्रस्ताव फिर्ता लिन प्रधानमन्त्री प्रचण्ड सरकारलाई पोख्रेलले आग्रह समेत गरे ।
कोणसभामा अधिकारकर्मी पोमनारायण पौडेलले पाँच नम्बर प्रदेश टुक्राउने सरकारको कदम जनभावना विपरित रहेको तर्क राखेका थिए । सरकारले उक्त निर्णय गर्दा वित्तिकै प्रदेशभरी भैरहेको आन्दोलनलाई सामान्य रुपमा नहेर्न सरकारलाई अधिकारकर्मी पौडेलले आग्रह गरे ।
विरोधलाई निरन्तरता दिँदै अवका दिनमा सडक र बजार मात्र होइन सरकारी कार्यालय पनि ठप्प पार्नुपर्ने राप्रपाका युवा नेता अजय थापाले वताए । प्रदेश विभाजन सबैको सरोकारको बिषय भएपनि अन्य जिल्लामा जस्तो देश र प्रदेशको चिन्ता भएका आफ्नो पार्टीका मानिसहरु नभेटेको नेविसंघ महाधिबेसन प्रतिनिधि रुपकराज खनालले दुःख प्रकट गरे । सबै नेपाली कांग्रेस कपिलवस्तुका नेता तथा कार्यकर्तालाई पार्टीभन्दा पनि देश र जनताको भावनाको कदर गर्दै यो संशोधन प्रस्तावको बिरोधमा सहभागिता जनाउन खनालले आग्रह गरे ।
सरकारले मिलेर रहेको प्रदेशलाई टुक्राउने प्रयास गलत रहेको र प्रदेश नम्बर ५ का पहाड तराईमा मिलेर बसेका जनताको विपक्षमा काम गर्नु गलत भएको सेन्ड ज्युट्स संस्थाका अध्यक्ष सुशिल कुमार श्रीवास्तवले वताए ।
प्रेस चौतारी नेपालका जिल्ला सहसचिब संजिव गहतराजले सबै पत्रकारलाई समग्र पत्रकारिता जगतले पनि प्रदेश टुक्राउने कदमप्रति विरोध गरेको जनाउँदै सरकारलाई कलमबाट दबाब दिनुपर्ने बताए ।
साथै कोणसभामा बोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष लिला खनाल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जिल्ला सभापति बिष्णुप्रसाद खतिवडा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष बिष्णु भण्डारी, राष्ट्रिय जनमोर्चाका छन्द बहादुर केसी लगायतले कुनै पनि हालतमा प्रदेश नम्बर ५ टुक्राउन नदिने बताएका थिए ।
“५ नम्वर प्रदेश टुक्राउन पाइँदैन, संशोधन प्रस्ताव फिर्ता गर, वर्तमान सरकार राजिनामा दे” लगायतका नारा जुलुस सहित चन्द्रौटा चोकबाट निकालिएको र्याली प्रशासन कार्यालय पुगी पुनः चन्द्रौटा चोकमा आई कोणसभामा परिणत भएको थियो । विरोधका कार्यक्रम अन्तर्गत शिक्षक, प्राध्यापक, अधिकारकर्मी, बुद्धिजिवी, संघसंस्था, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । कोणसभा नेपाल बुद्धिजिवी परिषद केन्द्रिय सदस्य बालाराम ज्ञवालीको अध्यक्षता र संयुक्त संघर्ष समिति संयोजक झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

















प्रतिक्रिया