
बागलुङ, ७ पुस । नेकपा एमालेका बागलुङको आठौ जिल्ला अधिवेशनको मिति नजिकिँदै जादा बागलुङमा राजनीति सरगर्मी बढ्न थालेको छ ।
एमाले समर्थक मात्रै होइन्, अन्य राजनीतिक दलका नेता कार्यकर्ता र राजनीतिमा संलग्न नभएका नागरिकहरुबीच समेत एमाले अधिवेशनको चर्चा चल्न थालेको हो ।
अध्यक्षका लागि धेरै आकांक्षी भएकाले पनि सरगर्मी बढेको हो । अध्यक्षमा वर्तमान उपाध्यक्ष नरबहादुर थापा, प्रदेश कमिटिका सदस्य इन्द्रलाल सापकोटा र उर्जा विभागका सदस्य हिराबहादुर केसीले उमेदवारी दिने बताएका छन् । सर्वसम्मत भएमा आफ्नो पनि इच्छा रहेको वर्तमान अध्यक्ष श्रीप्रसाद शर्माले कार्यकर्ताहरुमाझ बताएका छन् । पार्टी संस्थापन पक्षले जसलाई समर्थन ग¥यो उही अध्यक्ष बन्ने सम्भावना छ । संस्थापन पक्षको विश्वास जित्न खासगरि, सापकोटा र केसीले दौडधुप गरिरहेका छन् । तर, पार्टीका शीर्ष नेता भने सबैलाई मिलाएर जाने पक्षमा छन् । जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि सक्दो प्रयत्न भैरहेको बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मना केसीले बताइन् । पदाधिकारीमा एक दर्जन भन्दा बढीले इच्छा जाहेर गरेका छन् ।
अधिवेशनको उद्घाटन ओलीबाट
जिल्ला अधिवेशन उद्घाटनका लागि एमालेका अध्यक्ष के.पी. शर्मा ओली पुस ९ गते बागलुङ आउने कार्यक्रम छ । अधिवेशनमा पार्टीका महासचिव ईश्वर पोखरेल लगायतका शीर्ष नेताहरु सहभागी हुने कार्यक्रम छ ।
अधिवेशन सम्पन्न गर्नका लागि एमालेले विभिन्न १० वटा उपसमितिहरु गठन गरेको थियो । प्रतिनिधि व्यवस्थापन, आर्थिक, जनपरिचालन, खाद्य आवास, हल मञ्च व्यवस्थापन, स्वयंसेवक, अतिथि सत्कार, प्रचार प्रसार, सांस्कृतिक र यातायात व्यवस्थापन उपसमितिका संयोजक सहित सदस्यहरु र सिंगो एमाले अधिवेशन सफल पार्न लागेको सांस्कृतिक उपसमितिका संयोजक अञ्जु जिसीले जानकारी दिइन् ।
जिल्लाभरबाट ५ सय ९२ जना प्रतिनिधि अधिवेशनका लागि छनौट भइसकेको प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक विष्णु भुषालले जानकारी दिए । जानकारी दिनुभयो । छनोट भएका प्रतिनिधिहरुसंगै ५ हजार भन्दा बढी नेता, कार्यकर्ता र समर्थकहरु अधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने जनपरिचालन उपसमितिका संयोजक डिल्लीराज गौतमले बताए ।
अधिवेशनको उद्घाटन कार्यक्रम पुस ९ गते बिहान ११ बजे बागलुङ बजारको पुरानो जिविस रोडमा हुने भएको छ । दोस्रो दिनको बन्द सत्र र तेस्रो दिनका निर्वाचन कार्यक्रम राधाकृष्ण मन्दिर सभाहलमा हुने हल मञ्च व्यवस्थापन उपसमितिका संयोजक ध्रुवबहादुर केसीले जानकारी दिए ।
आठौ जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव सहित ६३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।












प्रतिक्रिया