जाजरकोट, २४ भदौ । जाजरकोट जिल्लावासीको उपचारमा चौबीसै घण्टा सेवामा तल्लीन रहने तीन जना युवा डाक्टर देख्दा जाजरकोटका जनता खुसी भएका छन् ।
सरकारी कोटामा डाक्टरी पढेर पनि सहरमै बस्ने वा विदेश ताक्ने धेरै छन् । तर आठ महिनाअघि जाजरकोट आएका तीन युवा चिकित्सक अपवाद बनेका छन् ।
झाडापखालालगायत रोगका कारण बर्सेनि दर्जनौँले अकालमा ज्यान गुमाउन बाध्य यस जिल्लाको स्वास्थ्य स्थिति सुधार्न अहिले उनीहरु लागि परेका छन् ।
सरकारी छात्रवृत्तिमा डाक्टर बनेका काठमाडौंका पवन शाक्य, विराटनगरका विभान्त साह र प्युठानका बोम विसीले दुर्गममै बसेर बिरामीको सेवा गर्ने अठोट लिए ।
नेसनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, वीरगन्जबाट अघिल्लो वर्ष एमबिबिएस पूरा गरेका उनीहरुले जिल्ला अस्पतालमा यसअघि उपलब्ध हुन नसकेका सेवा दिइरहेका छन् ।
उनीहरुले स्वास्थ सेवा विभागसँग हारगुहार गरेपछि इमर्जेन्सी अक्सिमिटर, इमर्जेन्सी ग्लुकोमिटर, अक्सिजन सिलिन्डर, वाटर वाथ, इसिजी, भिडियो एक्सरे, सुरक्षित गर्भपतन, भ्याकुम एक्सट्रयाटरलगायतका अत्यावश्यक सेवा यहीँ उपलब्ध भएको छ ।
‘सरकारी छात्रवृत्तिमा पढियो, देश–विदेशका अवसर थुप्रै थिए । तर दुर्गममा आउँदा बेग्लै आनन्द महसुस भएको छ,’ डा. साहले भन्नुभयो, ‘सुरुमा परिवारले दुर्गममा जाँदा अप्ठ्यारो हुन्छ कि भनेर चिन्ता गरेका थिए । तर मेरो मन यतै खिचियो ।’
यी दुईलाई विभागले करारमा नियुक्त गरेर जाजरकोट खटाएको हो । विसं २०७० असोज १८ गते उहाँहरु हाजिर हुँदा जिल्ला अस्पताल डाक्टरविहीन थियो । सर्वसाधारण सामान्य स्वास्थ्य सेवाका लागि पनि अन्तै जान बाध्य थिए । दुई चिकित्सक एकैसाथ जिल्ला आएपछि स्थानीयवासी खुसी भए ।
‘जनशक्ति र उपकरण अभावले सुरुमा समस्या भए पनि काम गर्दै जाँदा सहज भएको र हाल सामान्य उपचारका लागि बिरामी बाहिर जानुपर्ने अवस्था टरेको उनीहरु बताउँछन् ।
‘बिरामीले उपचार पाउन सकेनन् भन्ने सुन्नुपरेको छैन,’ डा शाक्यले भन्नुभयो । जिल्ला अस्पतालमा दैनिक १०० देखि १५० बिरामीको उपचार हुँदै आएको छ । यी दुवै तन्नेरी डाक्टरले अबको दुई वर्षसम्म जाजरकोट अस्पतालमै सेवा गर्ने सोच बनाएका छन् । ‘थप विशेषज्ञता हासिल गरे पनि दुर्गममै फर्केर उपचारमा जुट्ने अठोट लिएका छौँ,’ डा शाक्यले भन्नुभयो । यी दुवै जनालाई डाक्टर बोम विसीले सघाइ रहेका छन् ।
अहिले डाक्टर विसीको संयोजनमा अन्य दुई जना डाक्टरले जिल्ला अस्पतालमा दिन रात सेवा दिनथालेपछि अस्पतालप्रतिको जनविश्वास बढेको स्थानीयले बताएका छन् । रासस















प्रतिक्रिया