विराटनगर, ७ पुस । केन्द्रीय बाल कल्याण समितिको आयोजना तथा बाल न्याय समन्वय समितिको समन्वयमा मिति २०७३ पौष ५–६ गतेसम्म मोरङ जिल्लाको विराटनगरमा प्रदेश नं. १ का जिल्लास्थित विभिन्न सरकारी निकायका प्रमुखहरुबीच बाल संरक्षण र बाल संवेदनशीलता विषयक गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीको उद्घाटन केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षता; श्रम तथा रोजगार मन्त्रालयका राज्यमन्त्री दिलिप खवास गच्छेदारको प्रमुख आतिथ्यता; महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णु प्रसाद लम्सालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो भने समापन सत्रमा सर्वोच्व अदालतका न्यायाधीस तथा बालन्याय समन्वय समितिका अध्यक्ष देबेन्द्र गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
यसैगरी अतिथिहरुमा उच्च अदालत पाटनका न्यायधीश किशोर सिलवाल, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव तोयम राय, महिला तथा बालबालिका विभागका महानिर्देशक नरेश कुमार चापागाई, जिल्ला बाल कल्याण समिति मोरङका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक विजयलाल कायश्थ, प्रहरी नायब महानिरीक्षक केशरी राज घिमिरे, केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल र केन्द्रीय बाल कल्याण समितिका पूर्व अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधान रहनु भएको थियो ।
उद्घाटन सत्रको क्रममा आफ्नो भनाई राख्दै श्रम तथा रोजगार राज्य मन्त्री गच्छेदारले छिट्टै बालश्रम निवारण सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराई बाल संरक्षणको कार्यमा आवश्यक सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । यसैगरी मन्त्रालयका सचिव विष्णु प्रसाद लम्सालले जिल्लातहमा बालबालिकाको लागि विनियोजन गरिने सरकारी वजेट तथा गैरसरकारी क्षेत्रबाट परिचालन गरिने कार्यक्रमलाई एकीकृत गरी आवश्यकताको पहिचान सहित लक्ष्यित समूह र क्षेत्रका बालबालिकालाई समेटेर कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देश गर्नु भयो ।
उद्घाटन मन्तव्य राख्दै समितिका अध्यक्ष डिल्ली राम गिरीले बालबालिकाका विषय सबैको सरोकारका विषय भएको र सबैको साझा प्रयास, समन्वय र सहकार्यबाट मात्र बालअधिकारको संरक्षण तथा सम्वर्धन हुने भएकोले यो प्रदेशमा यो गोष्ठी आयोजना गरिएको र राज्यले बालबालिकाको लागि आवश्यक लगानी गरी समुन्नत र समृद्धि राष्ट्र निर्माण गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश नं १ अन्तरगतका जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बाल कल्याण समितिका संयोजक÷अध्यक्ष, जिल्ला न्यायधीश, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला न्यायाधिवक्ता, जिल्ला जनस्वास्थ्य प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक र बाल कल्याण अधिकारी एवम् प्रमुख महिला विकास अधिकृत समेत गरी ६८ जनाको सहभागिता रहेको थियो ।
दुई दिने उक्त कार्यक्रमको पहिलो दिन मुख्यतः दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरणमा उद्घाटन सत्र र दोस्रो चरणमा पहिलो कार्यपत्र नेपालमा बालअधिकारको सम्मान, संरक्षण र परिपूर्तिको अवस्था र संभावनाहरु विषयमा केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालबाट पहिलो कार्यपत्र र दोस्रो कार्यपत्र प्रहरी प्रधान कार्यालय, महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक दुर्गा सिंह चन्दले बाल संरक्षण र प्रहरी कारवाही प्रक्रियामा बालसंवेदनशीलता विषयमा प्रस्तुत गरिएको थियो ।
त्यसैगरी दोस्रो दिन पाटन उच्च अदालत ललितपुरका न्यायाधीश किशोर सिलवालले कानूनको सम्पर्कमा आएका बालबालिकाप्रति न्यायिक प्रकृयामा बाल संवेदबशीलता विषयमा तेस्रो कार्यपत्र र सम्पूर्ण सत्रको सहजीकरण गर्दै चौथो कार्यपत्र बालअधिकार कार्यान्वनः सरकारी, गैरसरकारी क्षेत्रको दायित्व विषयमा केन्द्रीय बाल कल्याण समितिका पूर्व अध्यक्ष गौरी प्रधानले प्रस्तुत गर्नु भएको थियो ।
गोष्ठीको उद्घाटन सत्रमा केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक धितालले कार्यक्रमको उद्देश्य तथा औचित्य माथि प्रकाश पार्दै यस गोष्ठीको मूख्य उद्देश्य बालअधिकारको संरक्षण तथा सम्वद्र्धनमा अवधारणागत स्पष्टता सहितको समबुझाईका साथ बालसंवेदनशीलता अभिबृद्धि गर्नु, संविधानमा उल्लिखित बालअधिकार सम्बन्धी संवैधानिक प्रावधानहरुको कार्यान्वयनका लागि सम्बद्ध निकायहरुको भूमिकामा स्पष्टता ल्याउनु, जिल्लामा बालबालिकाकासँग प्रत्यक्ष तथा परोक्ष रुपमा सम्बन्ध राख्ने सवाल तथा समस्याहरुको पहिचान गर्दै समाधानका विकल्पहरुको खोजी गर्नु र मूख्य जिम्मेवार निकायहरुबीच बालसंवेदनशीलतामा थप प्रभावकारिता अभिबृद्धि गर्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताउनु भयो ।
बालबालिका सम्बन्धी जल्दाबल्दा विषयहरुमा सहभागीहरुको सक्रिय सहभागितामा गरिएको प्रस्तुती छलफल र अन्तरक्रिया समेतको दुई दिने गोष्ठीबाट बालसंरक्षण र बालसंवेदनशीलता अभिवृद्धि सम्बन्धी प्रदेश–१ का विभिन्न सरकारी निकायहरुको दश बुँदे विराटनगर घोषणापत्र जारी गरी कार्यक्रमको समापन केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्ली राम गिरीको अध्यक्षता, सर्वाेच्च अदालतका न्यायाधीश तथा बाल न्याय समन्वय समितिका अध्यक्ष देबेन्द्र गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णु प्रसाद लम्सालको विशिष्ट आतिथ्यतामा सम्पन्न गएिको थियो ।
कार्यक्रमको समापनमा आफ्नो भनाई राख्दै सर्वोच्च अदालतका न्यायाधीश तथा बाल न्याय समन्वय समितिका अध्यक्ष देवेन्द्र गोपाल श्रेष्ठले सबै निकायहरु बालसंवेदनशील हुनु पर्ने बताउदै बालबालिकाको विषयमा सर्वोच्च अदालतले प्रसंशनीय निर्णय गरेको र यसको कार्यान्वयन राज्यले गर्नु पर्ने भन्दै बालबिज्याईका घटनाहरु बढ्दै गएकोमा सोको कारण खोतल्नु पर्ने र सुधार परिवारबाटै प्रारम्भ गर्नु पर्ने बताउनु भयो ।
समापन मन्तव्य राख्दै मन्त्रालयका सचिव विष्णु प्रसाद लम्सालले दश बुँदे विराटनगर घोषणा पत्र प्रदेश नं. १ का सम्बन्धित निकायबाट कार्यान्वयन अभिवृद्धिको अपेक्षा गर्दै बालबालिका सम्बन्धी ऐनको परिमार्जन लगायत नीतिगत सुधार गर्ने, आगामी आ.व.२०७४÷०७५ मा बालबालिकाको संरक्षणको लागि कार्यक्रम वजेट रकम वृद्धि गरिने, समस्यामा रहेका बालबालिकाका लागि जिल्लामा सेफ हाउस निर्माणमा सहयोग गरिने र केन्द्रमा प्रभावकारी समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसैगरी केन्द्रीय बाल कल्याण समितिका अध्यक्ष डिल्ली राम गिरीले सरोकारवाला सरकारी निकाय बीचको समन्वयकारी यो गोष्ठी उदाहरणीय हुनेछ र यसैप्रकारको गोष्ठी अन्य प्रदेशमा समेत सञ्चालन गरिने बताउनु भयो ।












प्रतिक्रिया