काठमाडौं, ६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान सरकार बाह्य शक्तिको प्रभावमा परेको निष्कर्ष निकालेका छन् ।
केही दिनअघि चीन भ्रमणबाट फर्किएका पूर्वराजा शाहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै बाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराइएको र स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको उल्लेख गरेका छन् ।
‘नेपालको स्थाथी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी नै हुन् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो । नेपाली जनजीवनका मौलिक परम्परा, रीतिथिति, सद्भाव, सहिष्णुता, सहअस्थित्व र पद्धतिसंग जोडिएको यावत विषय नै लौकिक सत्ता हो,’ ज्ञानेन्द्रले भनेका छन्– ‘दूर्भाग्यवस आजको सन्दर्भमा बाह्य शक्तिको अनूचित प्रभावमा अस्थाथी सत्ताहरु हावी गराएको छ भने, स्थाथी सत्ता र लौकिक सत्ता क्रमशः धूमिल पारिएको छ ।’
पूर्वराजा शाहले देशको अस्तित्व रक्षा गर्न आम नेपाली जनता एकजुट भएर जाग्नुपर्ने समय आएको पनि उल्लेख गरेका छन् । ‘अझै पनि जनताका आस्थाहरु ढलेका छैनन् । नेपाली मन मतिष्कमा देशभक्तिको भावना ढलेको छैन । सबै नेपालीले, राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सूम्पिएको गहन जिम्मेवारी पुरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सूम्पन्न मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ । राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अविभाज्यताको सन्देश फैलाउन परेको छ भने, हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं,’ पूर्वराजा शाहले अपिल गर्दै भनेका छन्– ‘समय भड्की सकेपछि पश्चातापले कूनै अर्थ राख्दैन ।’
राष्ट्रप्रेम र राष्ट्रप्रतिको समर्पणबाटै एकता, अखण्डता र अभिभाज्यताको सन्देश फैलाउन पूर्वराजाले आग्रह गरेका छन् ।














प्रतिक्रिया