
काठमाडौं, ६ पुस । उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सफलताका साथ समापन गरिएको छ ।
राजधानीमा मंगलबार १२ हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा प्रस्तुतीकरण (डेमो) गरेर इन्टरप्राइज कार्यक्रमको दोस्रो संस्करण पूरा गरिएको हो ।
इन्टरप्राइजले युवा पुस्तामा उद्यमशीलता प्रवद्र्धन गरी रोजगारी सिर्जनामार्फत मुलुककै अर्थतन्त्रमा योगदान पुर्याउन सकून् भन्ने उद्देश्यले ‘नेपाल बिजनेस एक्सेलरेटर प्रोगाम’ सञ्चालन गरेको हो । इन्टरप्राइज निजी क्षेत्रले सञ्चालन गरेको नयाँ अवधारणको कार्यक्रम हो ।

यस कार्यक्रममार्फत नेपाली कम्पनीले नयाँ अनि सिर्जनात्मक तरिकाले वस्तु उत्पादन, सेवा प्रवाह तथा लगानीका लागि पुँजी संकलन गर्न सिकाइन्छ । यो कार्यक्रममा सहभागी भएकाले आफ्नो व्यापार व्यवसायलाई थप नयाँ उचाईमा पुर्याउन सक्ने विश्वास लिइएको छ ।
बिजनेस एक्सेलरेटरको दोस्रो संस्करणमा देशभरका चार सयभन्दा बढी कम्पनी तथा तिनका प्रवद्र्धकले सहभागी हुने इच्छा राखेका थिए । यी मध्येबाट सबैभन्दा उपयुक्त ६ वटा कम्पनी छानिएका थिए ।
यी कम्पनीले कसरी उद्यमशीलता प्रवद्र्धन गर्न सकिन्छ भन्नेमा सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरेका छन् । जसमा एक्ट ३६० प्रालि, एइडन इन्जिनियरिङ प्रालि, फुडमान्डू प्रालि, फङकी डिलाइट प्रालि, इनग्रेल्स प्रालि र भिमभक्स ल्याब प्रालि रहेका छन् ।
इन्टरप्राइजको दोस्रो संस्करणमा सहभागी भएकाले पाएका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा राजधानीमा मंगलबार विभिन्न प्रदर्शनीमार्फत जानकारी गराइएको छ । होटेल ¥याडिसनमा ‘डेमो डे’ का रूपमा कार्यक्रमका उपलब्धीलाई संक्षिप्तरूपमा प्रस्तुतीकरण गरी कार्यक्रमको समापन गरिएको हो ।
डेमो कार्यक्रममा छानिएका ६ वटा कम्पनीले सिकेका ज्ञान, प्राप्त गरेका लगानी तथा अवसरका बारेमा जानकारी गराए । डेमो डेमा १५० जना भन्दा बढी लगानीकर्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

इन्टरप्राइज कार्यक्रमका निर्देशक अजय श्रेष्ठले यसपटक थप रचनात्मक तथा सिर्जनशीलता अभिवृद्धि गरी व्यावसायिक क्षमता बढाउने किसिमका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
‘एक्सेलरेटर कार्यक्रममा सहभागी प्रत्येकलाई व्यवसायमा उत्पन्न हुने विविध समस्या समाधानका उपाय, नयाँ उद्यमशीलता प्रवद्र्धन गर्न स्रोत खोजी तथा परिचालन एवं कानुनी पक्षका बारेमा समेत गहन तरिकाले जानकारी गराइयो,’ उनले भने ।
१२ हप्तासम्म सिकेका ज्ञान, विशेषज्ञले सिकाएका प्राविधिक, सैद्धान्तिक एवं व्यवहारिक सीपको झलक डेमा डेमा प्रस्तुत गरिएको उनले जानकारी दिए ।
इन्टरप्राइज कार्यक्रम नेपाल युवा उद्यमी मञ्चको अग्रसरतामा सञ्चालन गरिएको हो । यसमा सेन्टर फर क्रेसन अफ इकोनोमिक वेल्थ (सीसीईडब्ल्यू) ( ओक्लोहामा विश्वविद्यालयको सहकार्य रहेको छ ।
कार्यक्रमलाई टु नर्थ एसोसिएट्सले आर्थिक सहायता उपलब्ध गराएको हो । एनएमबी बैंक, आई क्यापिटल प्रालि, एक्ट ३६० प्रालि, ओनियन फिल्मस् प्रालि तथा इमाजिङ प्रालिको सहयोग र सहकार्य रहेको छ ।















प्रतिक्रिया