१ कार्तिक २०८३, आइतबार

ट्रम्पलाई रोक्ने प्रयास असफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिंगटन, ६ पुस । अमेरिकी इलेक्टोरल कलेजले औपचारिक रुपमा डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित गरेको छ । गत नोभेम्बर ८ मा भएको निर्वाचनमा विजयी हासिल गरेका ट्रम्पलाई ह्वाइट हाउस छिर्न नदिने प्रयासका बाबजुद उनले राष्ट्रपति बन्नका लागि आवश्यक २७० इलेक्टोरल कलेज भोट प्राप्त गरेका हुन् ।

करिब ६ साताअघि भएको निर्वाचनमा उनले जित हासिल गरेपनि इलेक्टोरल कलेजले औपचारिक रुपमा राष्ट्रपति चयन गरिसकेको थिएन । राष्ट्रपति बन्नका लागि आवश्यक मत पाएपछि उनले राष्ट्रको एकताका लागि कडा मेहनत गर्ने र सबै अमेरिकीको राष्ट्रपति बन्ने प्रतिबद्धता दोहो-याएका छन् । उनले राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पनि सबै अमेरिकीको राष्ट्रपति बन्ने उद्घोष गरेका थिए ।

ट्रम्पको जित लगत्तै अमेरिकामा ‘ट्रम्प इज नट माई प्रेसिडेन्ट’ लेखिएका प्लेकार्डसहित हजारौंले विभिन्न राज्यमा प्रदर्शन गरेका थिए । ट्रम्पको पक्षमा चुनावी परिणाम गएपछि इलेक्टोरल कलेजका सदस्यलाई ट्रम्पलाई समर्थन नगर्न दबाबसहित इमेल र फोनको बाढी नै आएको थियो ।

राष्ट्रपतिको निर्वाचन सकिएपनि रुसी ह्याकरहरुले ट्रम्पलाई जिताउन सहयोग गरेको तथा निर्वाचन परिणाम प्रभावित पारेको भन्दै विवाद नै चलेको थियो । केही दिनअघि मात्रै राष्ट्रपति बाराक ओबामाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिकी निर्वाचनमा प्रभावित पार्ने काम बन्द गर्न चेतावनी दिएका थिए ।

त्यस लगत्तै रुसले प्रमाण देखाउन वा अनावश्यक आरोप नलगाउन चेतावनी दिएको थियो । ट्रम्पलाई मत नदिन दबाबका बाबजुद टेक्सासका इलेक्टोरलहरुले ट्रम्पलाई नै मत हालेका थिए । तर, दुई जनाले भने ट्रम्पको विपक्षमा मतदान गरेका थिए । न्युयोर्कका चार जना इलेक्टोरलहरुले पनि हिलारीको विपक्षमा मत हालेको बताइएको छ ।

न्युयोर्कले चुनावमा हिलारीको पक्षमा मत दिएको थियो । निर्वाचनको परिणाम औपचारिक रुपमा भने ६ जनवरीमा बस्ने कंग्रेसको विशेष अधिवेशनमा घोषणा गरिनेछ । इलेक्टोरल कलेजबाट औपचारिक रुपमा राष्ट्रपतिमा भएकोमा उपराष्ट्रपतिमा निर्वाचित माइक पेन्सले बधाई दिएका छन् ।

यदि कुनै उम्मेदवारले २७० भोट नल्याएको भए हाउस अफ रिप्रेजेन्टेटिभमा भोटिङ हुने थियो । तर, रिपब्लिकनको बर्चस्व रहेको संसदबाट पनि ट्रम्प नै राष्ट्रपति बन्ने निश्चित थियो । ट्रम्पले इलेक्टोरल भोटका आधारमा राष्ट्रपतिमा निर्वाचित भएपनि पपुलर भोट भने हिलारीले ३० लाख बढी पाएकी छिन् । ट्रम्पले २० जनवरीमा औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको रुपमा पदभार ग्रहण गरेका छन् । – एजेन्सी