काठमाडौं, ५ पुस । युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी हत्याको विरोधमा राजधानीमा एक घण्टा चक्काजाम गरिएको छ ।
युवा संघ नेपाल काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा मंगलबार अपराह्न ४ बजेदेखि ५ बजेसम्म तीनकुनेदेखि बबहरमलसम्म भएको एक घण्टे चक्कजामले काठमाडौं उपत्यकाको यातायात पूर्ण रुपमा ठप्प भएको हो ।
तिवारी हत्याको विरोधमा चक्काजाम गर्न सयौं युवा सडकमा उत्रिएका थिए ।
आन्दोलनबाटै सबै ‘देशद्रोही’लाई लखेट्ने चेतावनी

चक्काजामपछि आयोजित कोणसभामा युवा संघका नेताहरुले छिटो भन्दा छिटो हत्यारा सार्वजनिक गर्न माग गरेका थिए ।
युवा केन्द्रीय सचिव माधव बास्तोलाले चाँडो भन्दा चाँडा हत्यारा समातेर सार्वजनिक नगरेमा देशैभरी आन्दोलनको कार्यक्रम गर्ने र आन्दोलनले नै सबै ‘देशद्रोही, राष्ट्रघाति जनविरोधी’लाई बढार्ने चेतावनी दिए ।
उनले रुपन्देही घटनाको जिम्मा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले लिनुपर्ने बताए । सचिव बास्तोलाले तराईमा एमालेलाई सखाप पार्छु भन्ने हेक्का राखोस् आगामी चुनावमा जनताले कसलाई बढार्छन् ? भने ।
यस्तै कोणसभालाई सम्बोधन गर्दै युवा संघका अर्काे केन्द्रीय सचिव बच्चन बहादुर सिंहले तिवारीका हत्यारालाई पानीमुनी लुकेपनि नछाड्ने बताए । उनले चाँडो भन्दा चाँडो हत्यारा सार्वजनिक गर्न सरकारसँग माग गरे ।
कार्यक्रम सञ्चालक एवं काठमाडौं क्षेत्र नम्बर १ का सहसचिव समुन्द्र तिमिल्सिनाले यस्ता हत्याहरुलाई टुलुटुल हेरेर नबस्ने चेतावनी दिँदै आइन्दा यस्ता अपराध दोहोरिन नदिन आग्रह गरे । उनले सम्पूर्ण जनताको शान्ति सुरक्षाको अधिकार प्रत्याभुत गर्न सरकारसँग माग गरे ।













प्रतिक्रिया