काठमाडौं, २४ भदौ । सोमबार बिहान घाम छिप्पिँदै थियो। राष्ट्रपति भवन शीतल निवासमा पनि चहलपहल बढ्दै थियो। विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थी राष्ट्रपतिबाट पदक लिने उत्साहका साथ राष्ट्रिय पोसाकमा सजिएर शीतल निवासअगाडि टाँगिएको पालमुनि धैर्यपूर्वक बसिरहेका थिए। साथमा थिए आफन्त र साथीभाइ पनि।
त्यत्तिकैमा शीतल निवासभित्र रहेको मञ्चबाट कार्यक्रम सञ्चालकको आवाज आउन थाल्यो। पालमुनि बसेर राष्ट्रपतिलाई पर्खेका विद्यार्थीले पल्याकपुलुक हेर्न थाले( राष्ट्रपति कहाँ छन् भनेर। केही समय त उनीहरूले सुनिरहे।
तर मानिसको अनुहार नदेखिने आवाज भने आउने क्रम बढ्दै गएपछि उनीहरूलाई नमज्जा लाग्न थाल्यो। कार्यक्रम यस्तो थियो, न त मञ्चबाट भाषण गर्नेले दर्शकलाई देख्थे, न त दर्शकदीर्घामा रहेकाले मञ्चमा बोल्नेलाई हेर्न सक्थे।
यही विषयलाई लिएर नेपाल विद्याभूषण पदक लिन बसेका विद्यार्थी आक्रोशित भए अनि नाराबाजी गर्न थाले। नाराबाजीका कारण राष्ट्रपति कार्यालयले भवनभित्र रहेको मञ्चलाई बाहिरमात्र सारेन, भवनभित्र मञ्च बनाउनु गल्ती भएको भन्दै राष्ट्रपति डा। रामवरण यादवले माफी पनि मागे।
विगतमा राष्ट्रपति भवन परिसरमा मञ्च बनाएर त्यही ठाउँबाट पदक वितरण गरिँदै आए पनि यस वर्ष मौसम खराब भएको भन्दै राष्ट्रपति कार्यालयले भवनभित्र मञ्च बनाएको थियो। पदक विजेता बस्न भने चौरमा पाल टाँगेर कुर्सी राखिएको थियो। पदक लिन कार्यालयभित्र बोलाएर आफन्त र अन्य दर्शकलाई बाहिर राख्न खोजेको भन्दै विजेताले विरोध गरेका थिए।
मञ्चबाट सभामुख सुवास नेम्बाङले भाषण गरिरहँदा आवाज मात्र सुनेपछि क वर्गको विद्याभूषण पदक लिन पहिलो लाममा बसेका विद्यार्थीले नाराबाजी गरेका थिए। नाराबाजी सुरु गरेपछि राष्ट्रपति यादवले मञ्चबाहिर आएर क्षमा मागेका थिए। उनले प्राविधिक त्रुटिका कारण मञ्च कार्यालयभित्र बनेको भन्दै संयमित हुन आग्रह गरेका थिए।
शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले पनि पदक वितरण समारोह राष्ट्रपति कार्यालयले व्यवस्थापन गरेको भन्दै प्राविधिक कारणले मञ्च भित्र भएको बताएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । नाराबाजीपछि राष्ट्रपति कार्यालयले पदक वितरण गर्न बनाएको मञ्च पनि तत्काल चौरमा सारेको थियो।















प्रतिक्रिया