काठमाडौँ, ४ पुस । नेपाल प्रहरीमा बढुवा भएका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले दर्ज्यानी चिन्ह पाएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दर्ज्यानी चिन्ह पाउनेमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह अन्तर्गत एआईजीमा बढुवा भएका डा. दिनेश चन्द्र पोखरेल र प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप–समूह अन्तर्गत डीआईजीमा बढुवा भएका डा. मिनराज पाठक, डा. आशा सिंह र डा. सुमनराजा श्रेष्ठ रहेका छन् ।
चारै जनालाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सोमबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
एआईजी पोखरेल नेपाल सरकार मन्त्रिपरिषद्को गत मंसिर २६ गतेको निर्णयबाट र डीआईजी पाठक, सिंह र श्रेष्ठ उपप्रधान तथा गृह मन्त्रीस्तरको पुस १ गतेको निर्णयबाट बढुवा भएका थिए ।
प्रहरी महानिरीक्षक अर्यालले पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरुलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै पदोन्नतीलाई अस्पतालको सेवा अभिवृद्धी गर्ने मौकाको रुपमा लिएर अघि बढ्न निर्देशन दिए । साथै व्यवसायीक क्षमता, सेवा भाव र भावनात्मक पक्षले अस्पतालको विकासमा मुख्य भूमिका खेल्ने उल्लेख गर्दै सोही अनुरुपको सेवा प्रदान गर्नुपर्ने उनले बताए ।
पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरुको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेश चन्द्र पोखरेलले पदोन्नतीले कार्य सम्पादनमा उर्जा थपेको उल्लेख गर्दै संगठनको स्वास्थ्य क्षेत्रमा मन, वचन र कर्मले लाग्ने बताए । इतिहास देखि नै प्रहरी अस्पतालले वृति विकासको गुरुयोजनालाई निरन्तरता दिदै आएकाले सो योजनालाई आगामी दिनमा पनि अगाडी बढाइने समेत उनले उल्लेख गरे ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।













प्रतिक्रिया