काठमाडौं, ३ पुस । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला क्यान्सरमुक्त भएकी छन् ।
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाताले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू स्वस्थ्य भएको जानकारी गराएकी छन् ।
मलेसिया भ्रमणमा रहेकै बेला अस्वस्थ भई चेकजाँच गराउँदा सुजातालाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनी नेपाल फर्केर थप उपचारका लागि सिंगापुर गएकी थिइन् । र, उनको सिंगापुर र मलेसिया दुबै देशका अस्पतालमा उपचार भइरहेको थियो ।
केही दिनअघि काठमाडौं फर्किएकी सुजाताले आज दिउँसो करिब ११ बजेतिर आफ्नै निवास मण्डिखाटारबाट आफू स्वस्थ्य भएको भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेकी छन् ।
‘समस्त शुभ चिन्तकहरुमा जय नेपाल, पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो,’ उनले फेसबुकमा लेखेकी छन्– ‘भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ । भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल म क्यान्सरमुक्त छु र विस्तारै मेरो स्वास्थ्यमा सुधार आउँदैछ । चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु । तपाईंहरुको सदभाव तथा शुभेच्छाले मेरो स्वास्थ्य सुधारमा निक्कै मद्दत पुगेको छ । यसका लागि यहाँहरुप्रति म सदैव आभारी रहनेछु ।’
सुजाताले फसबुकमा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएपछि अधिकांशले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
फेसबुकमा उनले निकै दुब्लो तर हसिँलो अनुहारको तस्बिर पनि राखेकी छन् ।













प्रतिक्रिया