बनेपा, २३ भदौ । काभ्रेपलाञ्चोक जिल्लाका कृषकले उत्पादन गरेका खसी र बोकाको बनेपा बजारका सडक–सडकमा मोलमोलाइ गरेर बिक्री गर्न थालिएको छ ।
दशैँको पूर्वसन्ध्यामा बनेपाको चारदोबाटो बजार, बसपार्क, चाँदनी चोकलगायतका क्षेत्रमा छरिएर बसेका कृषकले प्रतिकिलो ४२५ रुपियाँका दरले जिउँदा खसी र बोकाको बिक्री गरेको जिल्लाको फुलबारी गाविसबाट आएका कृषक चेतबहादुर लामाले जानकारी दिनुभयो ।
कृषक लामाले गाउँबाट ल्याएका चारवटा खसीमध्ये तीनवटा बिक्री गरेर एकै दिन झन्डै रु ३२ हजार आम्दानी गरेको जानकारी दिँदै आफ्नो आम्दानीको स्रोत नै पशुपालन र कृषि भएको बताउनुभयो । उहाँले जिल्लाको भकुण्डे, मेथिकोट, पात्लेखेत, कात्तिके देउरालीलगायतका गाविसबाट ती खसीबोका आउने गरेको बताउनुभयो । खसी बोका खरिद गर्न काठमाडौंबाट समेत उपभोक्ता आउने गरेको उहाँको भनाइ छ ।
बनेपा बजारको सडक–सडकमा राखिएका बोका र खसी खरिद गर्न उपभोक्ताको भीड लाग्ने गरेको छ । कृषकका अनुसार एउटा खसी वा बोकालाई रु चार हजारदेखि रु १५ हजारसम्म पर्ने गर्छ ।
बिक्री वितरण हुने खसी वा बोका केही उन्नत जातका भए पनि अधिकांश स्थानीय जातका रहेका छन् ।
जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पछिल्लो समय जिल्लामा बाख्रापालनतर्फ कृषकको आकर्षण बढेकाले दसँैको मुखमा यसको कारोबार बढी हुन थालेको छ । जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका पशु चिकित्सक मणि सापकोटाका अनुसार गत वर्ष मात्रै दसैँमा झण्डै १० हजार खसी र बोका बेचिएको र ११ करोड २५ लाख रुपियाँबराबरको कारोबार भएको थियो ।
यस वर्ष दसैँमा १५ हजार खसीबोका बेचबिखनबाट झन्डै रु १६ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको पशु चिकित्सक सापकोटाले जानकारी दिनुभयो । रासस













प्रतिक्रिया