२ कार्तिक २०८३, सोमबार

साँस्कृति कार्यक्रममा ठगिए कलाकार, पक्राउ परे ठग

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजना भएको साँस्कृतिक कार्यक्रममा सहभागिता जनाउन आएको नेपालकै चर्चित कलाकारको टोली ‘बेखर्ची’भएर फुङलिङमै अड्किएको समाचार सार्वजनिक भएको छ ।

आइतबार साँझ नै काठमाडौं पुगिसक्नुपर्ने कलाकारको टोली आयोजकले शर्त अनुसार दिनुपर्ने रकम नदिएपछि समस्यामा परेको हो । गायक हिमालसागर, गायिका सत्यकला राई, नायिका अनुु शाह र गायक दिनेश भारतीको टोलीले समस्यामा परेको बताए ।

कलाकार बसेको होटल जरामा सञ्चारकर्मीहरूसंग कुरा गर्दै गायक हिमालसागरले आफूहरूलाई आयोजकले समस्यामा पारेको बताए ।

उनले आयोजकले दिनुपर्ने रकम नदिएर कलाकारको ‘बेइज्जत’ गरेको आरोप लगाए । ‘शनिबार राति कार्यक्रम सकिनासाथ आयोजक टोली एकाएक लापत्ता भयोे’, हिमालसागरले भने, ‘पछि फोनमा कुरा गर्दा उल्टै धम्की खेप्नुपरेको छ ।’

माता पाथीभरा फिल्मस् प्रालिको नामबाट शनिबार ‘पाथीभरा रेड कार्पेट कन्सट टु’ कार्यक्रम आयोजना गरिएको थियो । आयोजकले हिमालसागरलाई ५० हजार, सत्यकलालाई ४० र भारतीलाई २० हजार दिने शर्त सहित कार्यक्रममा बोलाएका थिए ।

नायिका शाहलाई ‘कसम पाथीभरा’ नामक चलचित्रमा अभिनय गर्नेगरी माता पाथीभरा फिल्मस् प्रालिले शर्त गरेको थियो । गायक भारतीले नायिका शाहले शनिबारकै कार्यक्रममा लागि रकमको कवोल नगरेपनि उनीमाथि पनि ठगी भएको बताए ।

कार्यक्रमका संयोजक बद्री लामगादेले भने आफूलाई थाहै नदिई कार्यक्रम संयोजक भनेर व्यारनमा प्रचारवाजी गरिएकोले समस्यामा परेको बताए ।

मित्र लिङदेनले सबै कलाकारलाई ठगेको जनाइएको छ । आरोपित लिङदेनलाई भने प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमनाथ दाहालले कार्यक्रममा बोलाएर कलाकारलाई शर्त अनुसार दिने यातायात खर्च नदिने लगायतका दर्जनौं व्यक्तिका मौखिक तथा लिखित उजुरीका आधारमा लिङदेनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

दाहालका अनुसार लिङदेनले थुप्रैलाई बिभिन्न सांगीतिक बिधामा आईडल बनाईदिने भन्दै उनीहरूबाट रकम असुल गरेको अभियोग छ ।