४ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र मधेसी मोर्चाको ध्यान तिवारीको अनशनमा किन पुगेन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bikash-thakurकाठमाडौं, २५ मंसिर । सप्तरीको राजविराजमा सगरमाथा अञ्चल अस्पताल सुधारको माग गरेर विगत १८ दिनदेखि एक जना युवा मधेसी नेता विकास तिवारीले अनसनरत छन् ।

नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष समेत रहेका तिवारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गर्दा समेत माग पूरा गर्ने विषयमा सरोकारवाला निकाय कतैबाट ध्यान दिइएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्यमन्त्री गगन थापा र शिक्षामन्त्री डीआर पौडेलले तिवारीका जस्तै माग लिएर टिचिङ अस्पतालको सुविधान सम्पन्न कोठामा अनसन बसेका डा.गोविन्द केसीका माग पूरा गरे । तर विकास तिवारीको मागको कुनै सुनुवाइ गरेका छैनन् ।

तिवारीका मागलाई मधेसी मोर्चाले पनि खासै ध्यान दिएको देखिदैन । मधेसी मोर्चाका स्थानीय र केन्द्रीय नेताहरूले माग पूरा गर्नका लागि सरकारलाई दबाब नदिएको आरोप छ । माग पूरा भयो भने त्यसको जस राजनीतिक रुपमा तिवारीलाई जाने डरले मधेसी मोर्चाले अनसनलाई ध्यान नदिएको हुन सक्ने स्थानीय पत्रकार हेमशंकर सिंहले बताए ।

‘अध्यक्ष तिवारी र डा.केसीका मागमा धेरै भिन्नता छैनन् । केसीका माग ठूला लगानीकर्ताका लागि हुन सक्छ । तिवारीका माग ग्रामीण भेगका जनताले सुविधा पाउन भन्नेमा छन् । सोही कारणले तिवारीका मागको कुनै सुनुवाइ नभएको हुन सक्छ’, भन्छन् हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुर । ‘विकास तिवारीका मागका विषयमा मैले स्वास्थ्यमन्त्री गगनकुमार थापासँग कुरा गरे’, उनले भने, ‘समस्याको समाधान गर्ने आश्वासन दिनुभएको छ । तर अहिलेसम्म कुनै पहल भएको पाइन ।’

१८ दिनदेखिको अनसनका कारण गलेका तिवारीको छाती दुख्ने, जिउ र मांसपेशी बटारिने, रक्तचाप घट्ने लगायतका समस्या बढिरहेको अवकाशप्राप्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुरलीप्रसाद सिंहले जानकारी दिए । उनले भने, ‘विकास तिवारीलाई कुनै पनि बेला आकस्मिक चिकित्सकीय सेवा आवश्यक पर्छ ।’

तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपनि सरकारले चासो नलिएको दबाब दिन विद्यार्थीले राजविराजमा प्रदर्शन समेत गर्दै आएका छन् ।