
धनगढी, २२ मंसिर । स्वर्गिय पत्रकार कर्ण बोहराकी श्रीमति ममता वोहराको मिगौला रोगको उपचारका लागि चर्चित युवा नेता तथा नेकपा (एमाले) का केन्द्रीय सचिव योगेश भट्टराईले समेत सहयोग गरेका छन ।
एमालेका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले पाँच हजार रुपैयाँ सहयोग गरेका हुन । नेता भट्टराईले सहयोग रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहलाई वुधबार हस्तान्तरण गरेका थिए । सो अवसरमा महासंघका केन्द्रीय कोषाध्यक्ष सुर्यमणी गौतम, पश्चिमाञ्चल संयाजक हरिनारायण गौतम, एमालेको केन्द्रीय प्रचार विभाग सदस्य रविन प्यासी लगायतको उपस्थिति रहेको थियो ।
एमाले सचिव भट्टराइले अरुलाई पनि सहयोग गर्न प्रेरित गरोस भन्नका लागि आफूले सहयोग गरेको वताए । उनले सहयोग जुटाउन थालेको अभियानको तरिका पनि नौलो र प्रभावकारी भएको वताए ।
सुदूरपश्चिम संयोजक शाहले सचिव भट्टराईले सहयोग गरेको प्रसङ्ग फेसवुकमा स्टाटसमा लेख्दै उहाँको सहयोगले आफूहरुलाई हौसला मिलेको र अरुलाई सहयोग गर्न प्रेरित गर्ने अपेक्षा राखेको वताएका छन । ममताको उपचारका लागि वरिष्ठ पत्रकार मोहन मैनाली र ध्रुव वस्नेतले घोषणा गरेको पाँच, पाँच हजार रुपैयाँ उपलव्ध गराएका छन ।

वुधवार नै मेघा वैंक धनगढीमा कार्यरत शैलेस सिंह र उनकी पत्नी सीमाले आफ्नो वैवाहिक जीवनको पहिलो वर्षगाठका अवसरमा ममताको उपचारका लागि पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरेका छन । विवाह दिवस मनाएर अनावश्यक खर्च गर्नुभन्दा कठिनाइ भोगिरहेका मान्छेलाई सहयोग गर्नु उपयुक्त ठानेर आफूले ममतालाई सहयोग गरेको उनले वताए ।
यस्तै गरेर हाल अमेरिका वस्ने अछाम घर भएका प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य विनोद थापाले १० हजार, नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष वेदप्रकाश तिमिल्सेना, रामारोशन एफएमका लेखा तथा प्रशासन प्रमुख कृष्णावहादुर वुढाले पनि घोषित पाँच, पाँच हजार रुपैयाँ उपलव्ध गराएको केन्द्रीय सदस्य तथा सुप संयोजक शाहले वताए । झापाका पत्रकार गोपाल गडतौलाले एक हजार पाँच सय रुपैयाँ सहयोग गरेका छन ।
देशविदेशबाट एक लाख ३० हजार जति सहयोगको आश्वासन आएकोमा ७५ हजार जति रकम संकलन भइसकेको शाहले वताए ।
नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले दुवै मृर्गौला खराब भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेकी पत्रकार स्वर्गीय बोहराका श्रीमती ममता बोहरा र आश्रितहरूको सहयोगका लागि सार्वजनिक रूपमा आह्वान गरेपछि उपचार सहयोग संकलन हुन थालेको हो ।

स्वर्गीय बोहरापत्नी ममताको उपचारका साथै आश्रितहरूको सहयोगका लागि महासंघ केन्द्रीय समिति तथा सुदूरपश्चिम समन्वय समितिले सबै जिल्ला शाखा, सञ्चार गृह तथा सञ्चारकर्मी र उद्योगी, व्यावसायी, पेसाकर्मी र सर्वसाधारणमा आह्वान गरेका छन् । श्रीमतिको उपचारमा रहेका वोहराको मंसिर १० गते दिउँसो कुरुवा वसेका वेला सुतिरहेकै अवस्थामा निधन भएको थियो ।












प्रतिक्रिया