धनगढी, २१ मंसिर । कैलालीमा सञ्चार गृहको संख्यामा लगातार बृद्धिसंगै गुणस्तर र व्यावसायिकतामा ध्यान दिन विविध क्षेत्रका अगुवाहरूले आग्रह गरेका छन् ।
सोमबार धनगढीमा भएको एक कार्यक्रममा सहभागीहरूले समाजको आवश्यकता र अपेक्षाअनुसार समाचार सामग्रीमा विविधिकरण र समावेशीकरण बनाउनेतर्फ पनि मिडिया सञ्चालक तथा सञ्चारकर्मीहरू गम्भीर हुनुपर्ने बताए ।
सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा ‘समाचार सामग्रीमा विविधिकरण तथा समावेशीकरणको अवस्था’ विषयमा ‘नागरिकका दृष्टिमा कैलालीको पत्रकारिता’ सम्बन्धी सार्वजनिक संवाद कार्यक्रममा सहभागीहरूले स्थानीय सञ्चार माध्यममा पनि विशेषज्ञ र विशिष्ट पत्रकारिताको विकास गर्नुपर्ने औंल्याए ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कैलालीको पत्रकारिताको विकासको प्रभाव समग्र सुदूरपश्चिममा पर्ने गरेको चर्चा गरे । प्रजिअ रिजालले सञ्चार गृह तथा सञ्चारकर्मीले समाचार र विचार, संख्या र गुणस्तर, सामान्यकरण र विशिष्टिकरण, यथार्थ र संवेदनशीलता र पूर्वधारणा र निष्पक्षताबीच सन्तुलन मिलाउन आग्रह गरे ।
प्रजिअ रिजालले भने– ‘सञ्चारकर्मीहरूले विषयगत कार्यालयका कामकारबाहीबारे धेरै चासो लिएको पाइदैन । तपाईंहरूले सीमा सुरक्षाको अवस्था, सामाजिक सद्भाव, वैदेशिक रोजगारी र पारिवारिक अवस्था, युवा र कुलत जस्ता गम्भीर र संवेदनशील मुद्दामा बढी समाचार सामग्री पस्किनु पर्यो ।’
स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले स्थानीय सञ्चार गृहहरूमा विषयगत तथा विशेषज्ञ पत्रकारिता बिटको विकास गर्न ढिलो भइसकेको चर्चा गरे । ‘प्रत्येक विषयको गाम्भीर्यता र संवेदनशीलता जान्नका लागि विज्ञता आवश्यक पर्छ,’ स्थानीय विकास अधिकारी बिमलीले भने– ‘जिल्लामा खर्च हुने विकास बजेट, योजना तर्जुमा, विकास आयोजना कार्यान्वयन तथा जनताले प्राप्त गर्ने लाभ जस्ता विषयमा गम्भीर ढंगले विश्लेषण गर्नसक्ने क्षमता भएमात्र प्रभावकारी रिपोर्टिङ सम्भव छ ।’
उनले सामाजिक मुद्दाहरू, सफलताका कथा तथा पात्र, सुरक्षा र सामाजिक सद्भाव, लगायतका विषयलाई बढि उठान गर्नुपर्ने सुझाव दिए ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद् महेश्वर पाठकले पत्रकारले पत्रिकामा लेखेको र रेडियोमा बोलेको कुराले जनमत सिर्जना गर्ने भएकोले संवेदनशील भएर काम गर्नुपर्ने बताए । उनले सकारात्मक जनमत सिर्जनाका लागि पत्रकारमा विज्ञता आवश्यक पर्ने बताए । उनले टीकापुर घटनामा भदौं ७ गतेको घटनाबारे धेरै रिपोर्टिङ भए पनि अर्को दिन भएको लुटपाट तथा आगजनीको रिपोर्टिङमा मिडिया चुकेको बताए ।
उनले समाजमा फरकफरक आस्था, मान्यता र विचार भएका पक्षबीच एकअर्कालाई सम्मान गर्ने वातावरण कायम भए मात्रै बहुदलीय लोकतन्त्र दिगो हुने चर्चा गरे । ‘यस्तो वातावरण बनाउन मिडियाको अहम् भूमिका छ’ पूर्व सांसद पाठकले भने– ‘अहिले राज्य व्यवस्था कमजोर छ, राष्ट्रियतामाथि प्रहार भइरहेको छ । यस्तो अवस्थामा मिडियो झनै संवेदनशील भएर प्रस्तुत हुनु पर्दछ ।’
अधिकारकर्मी बिमला ओझाले तथ्यपरक र सही दृष्टिकोणसहितको समाचार सामग्रीको बढि प्रभाव हुने गरेको चर्चा गरिने । उनले प्रत्येक घटनाको फ्लोअप रिपोर्टिङ बढाउनु पर्ने बताइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालले मिडियामा संख्याको मात्रै नभएर विचारको पनि समावेशीकरण हुनुपर्ने बताए । उनले पत्रकारको योग्यता र वर्गीकरणको मापदण्ड हुनु पर्ने बताए । ‘समाज परिवर्तन गर्न खोज्ने, तर आफू परिवर्तन नहुने प्रवृत्तिले व्यावसायिक पत्रकारिता सम्भव हुँदैन,’ उनले स्थानीय र क्षेत्रीय स्तरमा आर्थिक विकासका मुद्दामा बढी केन्द्रीत हुन आग्रह गरे ।
कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले राष्ट्रिय मिडियाको कपी गरेर मात्र स्थानीय मिडिया टिकिरहन नसक्ने बताए । उनले पत्रकारहरुको अस्वस्थ प्रतिस्पर्धाले पनि मिडिया व्यावसायिक हुन नसकेको टिप्पणी गरे । ‘अब पनि गुणस्तर बढाउनेतर्फ ध्यान पुर्याइएन भने प्रतिस्पर्धा गर्न कठिन हुनेछ’ उनले पत्रकारिताको विकासका लागि आर्थिक विकास अनिवार्य हुने भएकोले त्यस्ता मुद्दामा बढी केन्द्रीत हुनुपर्ने बताए ।
पर्यटन व्यावसायी कृष्णबहादुर महराले सञ्चार माध्यमको विकासका लागि निजी क्षेत्रको पनि साथ र सहयोग आवश्यक रहेको चर्चा गरे ।
पर्यटन व्यावसायी मायाप्रकाश भट्टले व्यावसायिक र विषयगत पत्रकारिताको विकासका लागि सञ्चारकर्मी गम्भीर हुन आग्रह गरे ।
पत्रकार कर्ण शाहले समाजले स्थानीय मिडियाबाट धेरै अपेक्षा गर्ने तथा मिडियाको दिगो विकासका लागि चासो नराख्ने प्रवृत्ति रहेको बताए ।
शिक्षक डिल्लीराज जोशीले दक्षिणी सीमा संरक्षणमा भइरहेका प्रयासमा मिडियाको भूमिका बढाउन आग्रह गरे ।
कार्यक्रममा नागरिक अगुवा हरि रेग्मी, धनपति ढुंगेल, बाल अधिकारकर्मी माधव लोहनी, अधिकारकर्मी चित्रा पनेरू, शिक्षक गणेश नेपाली, थारू नागरिक अगुवा प्रभात चौधरी, पत्रकार लोग्सरी कुँवर लगायतले समाचार सामग्रीको विविधिकरण र समावेशीकरणको अवस्थामा सुधारका लागि गर्नुपर्ने प्रयासबारे चर्चा गरेका थिए ।
कार्यक्रममा पत्रकार एकिन्द्र तिमिल्सिनाले समाचार सामग्रीमा समावेशीकरण र विविधिकरणको अवस्थाबारे प्रतिष्ठानको अध्ययनका आधारमा निर्माण गरिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष प्रकाशबिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार मनमोहन स्वाँरले गरेका थिए ।













प्रतिक्रिया