१९ कार्तिक २०८३, बिहिबार

स्याङ्जाका होटेलमा गैरकानूनी धन्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hotel-room

– प्रकाश डोटेल

स्याङ्जा, २१ मंसिर । स्याङ्जाका विभिन्न भागमा संचालित होटेलहरुले गैरकानूनी धन्दा चलाएका छन् । दर्ता भएका र नभएका दुबैथरी होटेलहरुले गैरकानूनी धन्दा चलाएका हुन् । विशेषगरी राजमार्ग आसपासमा संचालित होटेलहरु गैरकानूनी धन्दामा संलग्न छन् ।

पाल्पा जोडिने स्याङ्जाको राम्दी तथा स्याङ्जा र कास्कीको सिमाना कुभिण्डेसम्मको सिद्धार्थ राजमार्ग आसपासमा रहेका होटेलहरु गैरकानूनी धन्दामा संलग्न छन् । होटेलहरुमा देहव्यापार, गाँजा सहित लागू पदार्थ बिक्री वितरण र जुवातास खेलाउने जस्ता गैरकानूनी धन्दा संचालनमा रहेका छन् ।

“राजमार्ग आसपासका बजार र खास गरि बयरघारी क्षेत्रका होटेलमा देहव्यापार गरिएको छ ।” एक स्थानीयले भने, “दिउँसो होस वा रात विना डरत्रास देहव्यापार संचालन गरिएको छ ।” खास गरि पर्यटकलाई लक्षित गरि संचालित कटेजमा गाँजा, लागू औषधको बिक्री वितरणर जुवातासको व्यवसाय हुने गरेको उनले बताए ।

पोखरा, बुटवल र जिल्लाकै ग्रामीण भेगका युवती बोलाएर देहव्यापार गरिएको छ भने गाँजा र लागू औषधको कारोबार गर्ने कटेजले स्थानीय स्तरका गाँजा र पोखरा तथा बुटवलबाट लागू औषध ल्याउने गरेका छन् । जुवातास व्यवसाय गर्नेले होटेलका कोठामा व्यवसाय संचालन गर्दै आएका छन् ।

“कानूनी दायरमा रहेका होटेलहरु गैरकानूनी व्यवसायमा संलग्न छैन्न ।” होटेल व्यवसायी स्याङ्जाका अध्यक्ष निर्मल कुमार शेरचनले भने, “दर्ता नै नभएका होटेलहरु गैरकानूनी क्रियाकलापमा हुन सक्छन् ।” दर्तै नभएका होटेलले गर्ने क्रियाकलापले दर्ता भएका होटेलहरु प्रभाबित हुनु परेको उनले दुखेसो गरे ।

गैरकानूनी व्यवसायमा संलग्न होटेल संचालक पहुँचवालाको आडमा देहव्यापार, गाँजा तथा लागू औषधको कारोबार र जुवातास व्यवसाय गर्दै आएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार राजमार्ग भएर हिड्ने नेता तथा सरकारी अधिकारी चिया नास्ता खान कटेज छिर्ने गर्दा अप्रत्यक्ष फाईदा उठाएर व्यवसायीले गैरकानूनी व्यवसाय गर्ने बाहाना मिलाएका छन् ।

“होटेलहरुमा देहव्यापार, लागू औषध कारोबार र जुवातासको व्यवसाय गर्ने भनेर उजुरी आएको छैन् ।” स्याङ्जाका प्रहरी प्रमुख एसपी देबबहादुर बोगटीले भने, “प्रतिबन्दित क्रियाकलाप र गैरकानूनी गतिबिधि नियन्त्रण गर्न दैनिक राजमार्ग गस्ति गरेका छौ ।” गस्तिले मात्रै नपुग्ने भएकाले जनचेतना फैलाउने काममा प्रहरी लागेको उनले दाबी गरे ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, वालिङ्, बयरघारी र गल्याङ् उद्योग वाणिज्य संघमा साना तथा ठूला गरि करिब २ सय होटेल दर्ता छन् । करिब १ सयको हाराहारीमा विना दर्ताका होटेल संचालनमा रहेको उद्योग वाणिज्य संघले जनाएको छ ।

“कानूनी प्रक्रिया पुरा गरेका र प्रतिष्ठापूर्वक व्यवसाय गरेकालाई गैरकानूनी व्यवसाय गर्नेले नराम्रो बनाउने भए ।” अध्यक्ष शेरचनले भने, गैरकानूनी धन्दामा संलग्नको पहिचान र कारबाहीमा स्थनीय प्रशासनले छिटो चासो दिनु आवश्यक छ । दर्ता नभएका व्यवसायीले गैरकानूनी धन्दा संचालन गरिदिदा वास्तविक व्यवसायीले दुःख झेल्नु पर्ने उनको भनाई छ ।

देहव्यापारमा संलग्न व्यवसायीले युवती उपलब्ध गराए वापत १ हजार देखि ५ हजारसम्म रकम असुल्ने गरेको श्रोतको भनाई छ । श्रोतका अनुसार प्रति खिली चुरोट गाँजा १ सय पचासदेखि २ सय, आगू औषध बजार भाउ र जुवातासमा दैनिक १० देखि १५ हजार शुल्क लिने गरिन्छ ।