काठमाडौं, २१ मंसिर । संघीय गठबन्धनले मगर प्रदेशसहित १० प्रदेशको माग अघि सारेको छ ।
मंगलबार अपराह्न सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको कांग्रेस र गठबन्धनको बैठकमा मगर प्रदेशको माग आएको हो ।
सरकारले अहिले ल्याएको संविधान संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेश टुक्राएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेसहित माले, जनमोर्चा, नेमकिपा लगायतले जनतासँग मिलेर आन्दोलन चर्काइरहेका बेला गठबन्धनका नेताहरुले झन विवादित प्रस्ताव ल्याएका हुन् ।
स्रोतका अनुसार गठबन्धनका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई अहिलेको संशोधन प्रस्तावमा पाँच नम्बर प्रदेशबाट टुक्राइएका पाँच जिल्ला रोल्पा, प्युठान, अर्घाखाँची, गुल्मी र पाल्पा तथा ४ र ६ नम्बर प्रदेशका केही जिल्ला गाभेर मगर प्रदेश बनाऔं भन्ने प्रस्ताव राखेका थिए ।
‘आदिवासी जनजाति र मगरको प्रतिनिधित्व हुनेगरी सीमांकन हेरफेर गरौं । पाँच नम्बर प्रदेशभित्रै मगर प्रदेश बनाऔं । ४, ५ ६ का केही जिल्ला टुक्राएर बनाउनुपर्छ,’ गठबन्धनका आदिवासी तथा जनजाति नेताहरुले एकै स्वरमा भनेका थिए ।
सभापति देउवाका कानुन सल्लाहकार केवराज जोशीका अनुसार जवाफमा देउवाले संविधान संशोधनमा आदिवासीका माग सम्बोधनका लागि कांग्रेस सकारात्मक छ तर छलफल गरेर मात्रै निर्णय लिन सकिने बताएका थिए ।
‘कांग्रेस आदिवासी, जनजाति लगायत सबैका मागप्रति लचक छ । यी विषयहरु छलफल चलाऔं । जे निर्णय आउँछ त्यसैअनुसार अगाडि बढौं ।’
सरकारले सात वटा प्रदेश मिलाउन संशोधन प्रस्ताव ल्याउँदा पाँच नम्बर प्रदेशमा आन्दोलन चर्किएको छ । एमालेसहितका दलहरु आन्दोलन छन् । यसैबेला आन्दोलन थप चर्किनेगरी प्रदेश थप्ने प्रस्ताव ल्याएर मधेसवादी दलका नेताहरु सरकारलाई दबाब दिन थालेका छन् ।












प्रतिक्रिया