३ कार्तिक २०८३, मंगलबार

अमेरिकाको ग्रीनकार्ड त्यागेर गाउँमै पशुपालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dv-lottery-results

पथरी (मोरङ), २२ भदौ । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला शनिश्चरेका दुई दाजुभाइ अमेरिकाको (पिआर) त्यागेर पशुपालन गरिरहेका छन् ।

चार वर्षसम्म अमेरिकाको वासिङ्टन डिसीमा बसेर राम्रै रकम लिएर नेपाल आएका पथरी शनिश्चरे नगरपालिका वडा नं ५ का ज्ञानेन्द्र भित्रिकोटी र योगेन्द्रले मोरङको पथरी शनिश्चरे नगरपालिकामा गोठ बनाएर पशुपालन गरेका हुन् ।

उनीहरूले विदेशमा कुल्ली र लेबरकामबाहेक अरू नपाइएको गुनासो गरे । दुवै दाजुभाइले वासिङ्टन डिसीमा होटलमा प्लेट सफा गर्ने काम गर्दै आएका थिए । उनीहरूले भदौ पहिलो हप्तादेखि आफ्नै दुई बिघा जग्गामा ठूलो गोठ बनाएर पशुपालन गर्न थालेका हुन् ।

अहिले उनीहरूले हाँस, कुखुरा, बाख्रा र गाई पालेका छन् भने पोखरी बनाएर माछापालनसमेत गर्न थालेका छन् । भित्रिकोटीले अर्काको देशमा काम गर्नुभन्दा आफ्नै देशमा केही गरौं भनेर नेपाल फर्किएर पशुपालनमा लागेको बताए ।

उनीहरूले आफ्नो पशु फार्ममा २० वटा दुहुना गाई पालेका छन् । त्यहाँबाट उत्पादन हुने दूध पथरी बजारमा बिक्री हुने गरेको छ । उनीहरूले ल्याएको दुहुना गाईबाट उत्पादित दूधबाटमात्रै दैनिक १५ हजार रुपैंया आम्दानी गर्ने गरेको भित्रिकोटीले बताउनुभयो ।

फार्ममा बङ्गुर र बँदेलसमेत पाल्ने तयारी गरिँदैछ । विदेशमा काम गर्ने अवसर छ, पैसा छ तर नेपालमा जस्तो सामाजिक जीवन नभएको भित्रिकोटीको भनाइ छ ।

प्रविधि प्रयोग गरेर कृषिमा लागे त्यसबाट ठूलो आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने शिक्षित बेरोजगार युवाको बीचमा भित्रिकोटी दाजुभाइ उदाहरणीय बनेको स्थानीय पारस पौडेलको भनाइ छ ।

वैदेशिक रोजगारी छाडेर व्यावसायिक तरकारीखेती

यता, म्याग्दीको हिस्तान–४ टिकोटका युवा कृषक धनकुमार गर्बुजाले वैदेशिक रोजगारी छाडेर व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको छ ।

रोजगारीको सिलसिलामा बहराइन, कतार र मलेसियामा १० वर्षभन्दा बढी समय बिताउनुभएका गर्बुजाले गत माघ महिनादेखि व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो ।

पहिलो मौसममा लगाएको आलुखेतीबाट एक लाख ३० हजार रुपैंया आम्दानी भएको गर्बुजाले बताउनुभयो ।

अहिले १६ रोपनी जग्गामा बन्दा, काउली, गाजर, मुलालगायतका तरकारीखेती विस्तार गर्नुभएका कृषक गर्बुजाले लगनशील भएर लागेमा तरकारीखेतीबाटै मनग्य आम्दानी हुने बताउनुभयो ।

“पहिले कृषिको महत्व बुझिएन, पैसा कमाउन विभिन्न मुलुक धाइयो, अब आफ्नै गाउँको खेतबारीमा मिहिनेत गर्ने सोच बनाएको छु”, उहाँले भन्नुभयो ।

कृषिमा लगानीभन्दा बढी मिहिनेत लाग्ने भए पनि उत्पादन भएका उपजले सजिलैसँग बजार पाउने भएपछि कृषकहरू यसप्रति आकर्षित भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार, पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक तरकारीखेती गर्ने कृषक बढेका छन् ।

व्यावसायिक कृषकलाई कार्यालयले प्राविधिकलगायत अन्य अनुदानमा कृषि उपकरणसमेत उपलब्ध गराउने गरेको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताउनुभयो । रासस