अछाम, २१ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले संविधान कार्यान्वयनको अवस्था भएको भन्दै सरकारले नेपाल र नेपालीलाई आवश्यक नरहेको संविधान संशोधन विधेयक तुरुन्त फिर्ता लिई चुनावको मिति तोक्नुपर्ने बताउनु भएको छ ।
राजनीतिक दलले देशको गरिमा बढाउन र देशलाई सम्बृद्ध बनाउनुपर्नेमा देशलाई नयाँ द्धन्द्वमा धकेल्ने दुष्प्रयास गरेको भन्दै यो संक्रमणकालिन सरकार भएको र यसको काम संविधान कार्यान्वयन भएकाले छिटो चुनाव गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रेस चौतारी अछामले सदरमुकाम मंगलसैनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहनुभएका नेता रावलले कांग्रेस र माओवादीको अस्थिर राजनीतिक चरित्रका कारणले देशमा समस्या आइरहेको बताउनुभयो । संविधान संशोधन जसका लागि गरियो भनिएको छ, त्यस क्षेत्रका लाखौं जनताले त्यसकोबिरुद्ध आन्दोलन गरेकाले यसको औचित्य नभएको पुष्टि भएको दाबी गर्नुभयो ।
देशलाई निकास दिन, हिमाल, पहाड र तराईलाई जोडेर देशलाई समृद्ध पार्नुपर्नेमा जोड दिँदै यसको बिरोध गर्नेहरु राष्ट्रिय हितविपरित कसैबाट परिचालित भएको बताउनुभयो ।
‘कुनै पनि देशले अंगीकृत नागरिकलाई हुलेर देशको प्रमुख पदमा पुग्ने व्यवस्था नभएकोले एक अबर ३० करोड जनसंख्या भएको भारतको छिमेकमा बसेर यो संशोधन गर्ने व्यवस्था गरेर सरकार र प्रधानमन्त्री प्रचण्डले देशलाई कहाँ लिन खोजेका हुन् ?’ रावलले प्रश्न गरे ।
पहिलो संविधान सभाको बेला विभिन्न आयोगले ल्याएका बिबादास्पद प्रतिवेदनलाई संघीय आयोग बनाई बैधानिकता दिने षडयन्त्र सरकारले गरिरहेको भन्दै यो कुरा सरकारले गोप्य राखेको र मन्त्रिपरिषद्बाट निर्णय गरिसकेको नेता रावलको दाबी छ ।











प्रतिक्रिया