१ कार्तिक २०८३, शनिबार

लमजुङको लोककथाले यसरी मोहित बनायो…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Katha-child-balbalika

दीपक अधिकारी

काठमाडौं, २२ भदौ । तपाईंहरुले बालिकाहरुलाई कथा सुनाउने गर्नुभएको छ ? छ भने तपाईहरुलाई यादै होला, ‘बालबालिकाहरु कथा भन्ने बित्तिकै हुरुक्कै भईहाल्छन् । कथा सुन्ने बानी परेका बालबालिकाहरुले त कुनै दिन कथा सुन्न पाएनन् भने अविभावकलाई पिरोल्न थाल्छन् । बालबालिकाहरु मात्रै होइन, पौराणिक, लोककथा मन नपराउनेहरु बिरलै मात्रामा पाइएला । लमजुङ सदरमुकाम बेसीशहरको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा यस्तै कथा बाचन को कार्यक्रम भयो, जुन कथाहरु यति घतलाग्दा थिए की कार्यक्रममा उपस्थित सबै कथा सुन्नमै एकाग्र थिए । कथा सुन्दैगर्दा आफ्नै शैलीमा खुशी ब्यक्त गर्दै, हाउभभाउ सहित आफ्ना कुराहरु एकअर्कामा साट्दै थिए भने कथामा आएका बियोगान्त पक्ष सुनेर कता कता आँखा रसाएको जस्तो पनि देखियोे ।

प्रसङ्ग थियो लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा आयोजना गरिएको ‘बाजेबज्यैका कथा मेरो चित्र कार्यक्रम’को । स्थानीय लोक संस्कृतिको जर्गेना गर्ने र बढ्दै गएको दुई पुस्ता बिचको दुरीलाई कम गर्ने प्रयास स्वरुप जुन कार्यक्रम सञ्चालन भएको थियो । लमजुङकै बाजे÷बज्यैले आफ्ना नाततिनातिनाका माझ कथा सुनाउनु भयो सो कथालाई नातिनातिनाले नै लेख्नुभयो र नाति÷नातिनाले नै चित्र कोर्नुभयो । लमजुङकै कथावाचक कथाकार, चित्रकारले तयार गर्नुभएको उक्त कथाहरुलाई सम्पादन गरि पुस्तकको आकार दिनलाई मिल्ने बनाउन, त्यसमा रहेका कमीकमजोरीलाई हटाउन सो कथा वाचन गरिएको थियो ।

लोक कलामा धनी मानिन्छ लमजुङ । तर ती महत्वपूर्ण र पुरातात्विक सम्पदाको बारेमा नयाँ पुस्ता भने ‘कुहिरोको काग झैं’ छन । तिनै ऐतिहाँसिक, लोक तथा दन्त्य कथा खोतल्न भनेर रिड नेपालको सहयोगमा नेपाल बालसाहित्य समाजको संयोजनमा उक्त कार्यक्रम लक्ष्मीनारायण पुस्तकालयमा भएको थियो । यहाँका १० जना बाजेबज्यै र १० जना बालबालिका छनौट भए । केही महिना पहिले आएको टोलीले बाजेबज्यै सँग पौराणकि कथा लियो भने सोही बमोजिमको चित्र बालबालिकाबाट ।

तिनै बाजेबज्यैले भनेको कथा लिएर बालसाहित्य समाजको टोली बेसीशहर आइपुग्यो, कथालाई पुस्तकको रुपमा निकाल्नका लागि अन्तिम छलफल गर्न । ‘लमजुङको कथा’ नाम दिएको सो कथा नेपाल बाल साहित्य समाजका सचिव एबं कथाकार यशु श्रेष्ठले वाचन थाल्नुभयो । एउटा कथा जो यहाँको ऐतिहाँसिक महत्व बोकेको थियो, लमजुङलाई चिनाउने खालकोे । तत्कालिन लमजुङे राजा यशोबह्म शाहको पालाको सम्पुर्ण इतिहास उल्लेख भइरहँदा निकै चाखपूर्बक सुनिरहेका थिए बाजेबज्यैसँगै अन्य सहभागीले । कथामा दैविक कुराहरु ब्यक्त भए । गोरखनाथ, मच्छिन्द्र नाथ, भैरवदेखि कालीसम्मका इतिहासहरु कथामा बाचन भए । भैरवको कुकृत्य, त्यसलाई रोक्नका लागि गोरखनाथको आवागमनका बारेमा छलफल भयो । बाजेबज्यैले आ–आफ्नो कुरा राखे । लमजुङ दरबारसँग सम्बन्धित कथा थियो । गोरखनाथ लमजुङ आएपछि भैरब सच्चिएको, पहिले राँगा चढाउनु पर्ने उनलाई देब सभा बसेपछि पछि भैरव सच्चिएको दही र रोट चढाएपनि हुने गरेको बाजेबज्यैको कथन थियो । दरबारको पूर्ब पट्टी भैरबले अझैपनि हातमा कचौरा थापेको प्रतिमा अझै कायमै रहेको उनीहरुको भनाई थियो ।

अर्को थियो “आमाको महत्व” जुन गाउँशहरकी बज्यै सुर्यकुमारी बोहोराले सुनाउनु भएको कथा । आमालाई कसरी हेलाँ गरिन्छ ? आमाको महत्व बुझ्न नसक्दा कस्तो दुःख पाइन्छ ? अनि मान्छे लोभमा कसरी फस्छ भन्ने आकर्षक तवरबाट प्रस्तुत थियो । आफ्नो पौरखबाट आएको उपार्जनले बुहारीको पेट भर्दा समेत असन्तुष्ट बुहारीले नसक्ने भएपछि मरनघाटसम्म पु¥याउन लाग्दाको दृश्य बाचन भइरहँदा कार्यक्रम स्थलमा सन्नाटा छायो । जब छोराले सलाई बिर्सियो, त्यहिबेला आमा भागेर ज्यान जोगाई जंगलको रुखमा बसिन । छोराले आमा जलाएको भन्ठानेर घरमा गयो । ती जिउँदै आमा जब घर पुगेर ढोका ढक्ढक्याउन पुगिन, छोरा बुहारी झल्यास्स भए । आमाले ल्याएको सुन, चाँदी हिरा लगायतका सामान देखाउँदा तिन छक परे छोरा बुहारी । अनि शुरु भयो वार्तालाप । धन देखेपछि हुरुक्कै भइहाले दुबैजना । सोध्न थाले– ‘कसरी यस्तो सम्पति ल्यायौ आमा ?’

आमाले जवाफ दिईन– ‘स्वर्गमा त कति धेरै पाइने रै‘छ यस्ता सामाग्री । मैले त बोक्न नसकेर यतिमात्र ल्याएँ ।’

यो कुरा बुहारीले सुन्नासाथ श्रीमानलाई आमालाई झै आफूलाई पनि जलाउन आग्रह गरिन, सम्पतिको लोभमा । आमाको बठ्याईं बुहारीले बुझिनन । अर्कालाई खरानी बनाउँछु भन्दा आफैं खरानी बन्न पुगिन बुहारी ।

यस्ता कथाका अंश थिए । जो सन्देशमुलक अनि मोहित पार्ने खालका । यी कथा लमजुङकै गहनाहरु हुन । इतिहाससँग जोडिएका सन्देश दिने खालका कथाहरु अझैपनि प्रशस्त छन् हाम्रा बाजेबज्यैसँग । अब खाँचो ती कथालाई नयाँ पुस्तामा स्थानान्तरण गर्नु । जिल्लाका सरोकारवाला निकायले नचाहेर हो वा नसकेर अझै चिनाउन सकेका छैनन लमजुङलाई । ‘नजिकको तिर्थ हेंला’ भने झैं थुप्रै ऐतिहाँसिक र पुरातात्विक धरोहरका बारेमा नयाँ पुस्तालाई बुझाउन नसकिरहेको बेला लक्ष्मीनारायण सामुदायिक पुस्तकालयमा आयोजना भएको यस कार्यक्रमले कस्तो संस्कृति हस्तान्तरणमा कस्तो प्रभाव पार्ला त्यो भने हेर्न बाँकी छ ।