दाङ, १९ मंसिर । नेपाली कांग्रेसका नेत खुमबहादुर खड्काले वर्तमान समस्याको जड नयाँदिल्लीमा भएको १२ बुँदे सम्झौता भएको भन्दै संघीयताको विरोध गर्नुभएको छ ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले आइतबार अमेलियामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खड्काले भन्नुभयो, ‘हाम्रो जस्तो सानो मुलुक, जहाँ तीन करोड जनसंख्या छैन, यस्तो देशमा संघीयता आवश्यक थिएन ।’ उहाँले पार्टीले संघीयता स्वीकारेकाले आफूले पनि त्यसलाई मानेको बताउनुभयो ।
‘संघीयतामा नजाउँ, जातजातिको कुरा आउँछ, भोलि अप्ठेरो हुन्छभन्दा साथीहरूले नमान्दा आज देश विखण्डनतर्फ जान थालेको छ’, नेता खड्काले बताउनुभयो ।
१२ बुँदे सहमति हतारमा गरेकोले मुलुकमा अस्थिरता निम्तिएको उहाँले बताउनुभयो । खड्काले भन्नुभयो, ‘राजसंस्थाको विषयमा तानाशाह हुनुहुन्न भनेको भए पनि राजा फाल्ने कुरा मैले कहिल्यै गरिन ।’ उहाँले धर्मनिरपेक्षाको सवालमा समेत १२ बुँदेमा कतै उल्लेख नभएकोले त्यो लाद्न खोज्दा आज देश अस्थिर भएको र विभाजनतिर गइरहेको बताउनुभयो ।
कांग्रेस नेता खड्काले राष्ट्रिय विभूति पृथ्वीनारायण शाह र महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक फोड्नेहरू विदेशी दलाल भएको भन्दै इतिहाँसलाई कहिल्यै भूल्न नहुने बताउनुभयो । उहाँले माओवादी केन्द्रलाई विदेशी दलालको संज्ञा समेत दिनुभयो । ‘माओवादीलाई दरबारियाले जन्माए, इण्डियाले बढाए–हुर्काए र गिरिजाप्रसाद कोइरालाले फलाए फुलाए’, कांग्रे नेता खड्काले भन्नुभयो ।
सीमाङ्कन गर्दा पहिलेनै त्रुटि गरेकाले अहिले समस्या भएको नेता खड्काको भनाइ छ । ‘पहिले गर्नुपर्ने काम अहिले गर्दा कांग्रेसलाई घाटा पुग्ने छ’, उहाँले भन्नुभयो ।
नेता खड्काले जनाताले चाहेमा फेरि हिन्दूराष्ट्र फर्किने बताउनुभयो । उहाँले ९४ प्रतिशत ओमकार परिवार रहेको नेपालमा ४ प्रतिशतको हाराहारीमा रहेका मुस्लीमहरूको पनि हिन्दूराष्ट्रका लागि सर्मथन रहेको बताउनुभयो ।
नेता खड्काले आफूलाई उपसभपाति नबनाएर सभापति शेरबहादुर देउवा र कांग्रेसलाई घाटा लाग्ने बताउनुभयो । ‘मलाई उपसभापतिमा मनोनीत गर्ने कुरा भारतीय राजदूतको उपस्थितिमा शेरबहादुर देउवाले प्रतिवद्धता जनाउनु भएको थियो’, खड्काले भन्नुभयो, ‘अहिले मलाई उपसभापति बनाउने वा नबनाउने त्यो देउवाजीमा भर पर्छ ।’











प्रतिक्रिया