काठमाडौं । पत्रकार फूलमान वलको पहिलो कथा संग्रह ‘काजोल खातुन’को औपचारिक विमोचन गरिएको छ ।
गत साता कर्पोरेट लञ्च गरिएको पुस्तकको बत्तीसपुतलीस्थित शिल्पी नाट्य समूहमा शनिबार आयोजित कार्यक्रममा प्राध्यापक डा.अभि सुवेदी, साहित्कारद्वय शारदा शर्मा र कुमारी लामा तथा समीक्षक गुरुङ्ग सुशान्तले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।
१३ वटा कथा संगृहित काजोल खातुन द्वन्द्वको बाछिटाले सर्वस्व गुमाएकाहरुको कथा संग्रह हो । कार्यक्रममा प्राध्यापक सुवेदीले पीडाका आयामहरु समेटिएपनि कथाका भाषाहरु राम्ररी बग्न सफल भएको बताए ।
वलको लेखनीमा सयम र कालका घटनाहरु समावेश भएकाले जो कोहीले पनि आफूलाई त्यससग सम्बन्धित भएको पाउने उनको बुझाइ थियो । उनले भने, ‘फूलमानले इतिहास, दिन, समय र पात्रका कालखण्डलाई राम्ररी उनेर भाषा शिल्पमार्फत् कथा बुनेकाले यो कविताजस्तै काव्यिक छ ।’
पुस्तकमाथि टिप्पणी गर्ने क्रममा समीक्षक गुरुङ सुशान्तले काजोल खातुन द्वन्द्वमाथि लेखिएको साहित्यमा नया प्रयोगशैली बोकेर आएको बताए । माओवादी सशस्त्र द्वन्द्वले अहिलेका कयैन उपलब्धिहरु पनि बोकेकाले त्यसलाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ थियो । उनले भने, ‘काजोल खातुनमा सशस्त्र द्वन्द्वका अध्यारा पक्षहर समेटिएको छ । अन्य कथाकारका लागि उहाले स्पेश छोडिदिनु भएको छ ।’
टिप्पणीकै क्रममा कुमारी लामाले युद्धले मात्रै सबथोक जितिन्न भन्ने भावना काजोल खातुनमा पोखिएको प्रतिक्रिया दिइन् । कथामा विषयको विविधता नभएको र परिवेशहरु पनि समान रहेकाले पाठकलाई घटनाक्रमहरु दोहरिएकोजस्तो लाग्नसक्ने लामाको भनाइ थियो । यद्यपि हिंसाको प्रत्यक्ष असर नबेहोरेका मध्यमवर्गीय युवा पुस्ताको मनोदशा कथामा राम्ररी पोखिएको उनले बताइन् ।
साहित्यकार शारदा शर्माले पत्रकारले साहित्य लेख्दा विवरणको पेटारोमात्रै हुने गरेको र तथ्य र तथ्याङ्कको चाङमात्रै नभएर काजोल खातुन उत्कृष्ट कृतिका रुपमा आएको प्रतिक्रिया दिइन् । कविताबाट साहित्यमा प्रवेश गरेका वलको लेखनी थप सशक्त हुदै गएको उनको टिप्पणी थियो ।















प्रतिक्रिया