काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले बन्द, हड्ताल, सवारी साधनमा आगजनी, तोडफोड जस्ता कार्य गरेर राष्ट्रघाती काम गर्दै हिँडेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता पुनले भने, ‘एमालेले राष्ट्रघाती काम गरेको छ । उद्योग बन्द गराएको छ । यातायात बन्द गराएको छ । सडक बन्द गराएको छ । गाडीमा आगो लगाउने अनि राष्ट्रवादी हुँ भन्ने ?’ एमाले आफ्नै घोषणापत्र विपरित सडक बन्द गर्दै हिँडेको उनको आरोप थियो ।
बुटवलमा उर्लिएको आन्दोलनप्रति खासै सकारात्मक टिप्पणी नगरेका माओवादी नेता पुनले भने, ‘संविधान संशोधन प्रस्तावमा मगरहरूका लागि क्लष्टर मिलाएर सीमाङ्कन ल्याएका छौँ । पाँच नम्बर प्रदेशबाट छुट्टिएका जिल्लाहरू अब मिल्न सक्दैनन् ।’
आफ्नो पार्टीका नेता टोपबहादुर रायमाझीका गतिविधीलाई नियालिरहेको बताएका नेता पुनले भने, ‘टोपबहादुर रायमाझी एमाले पार्टीले राखेको कार्यक्रममा जानु भएको छ । आउनु भयो भने कुरा गर्ने छौँ ।’ उनले सीमाङ्कनको विषयमा भएको निर्णय कुनै पनि हालतमा फिर्ता नहुने बताए ।
संशोधन प्रस्तावलाई पारित गर्न मधेसी मोर्चासँग छलफल भइरहेको भन्दै उनले सहमति निस्कने उल्लेख गरे ।
एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेका बेला कमल थापामार्फत भारतीय प्रधानमन्त्री सुष्मा स्वराजलाई संविधान संशोधनको चार बुँदे प्रस्ताव पठाएको उल्लेख गर्दै नेता पनुले भने, ‘त्यति बेला आफूले भारतलाई पठाएको संशोधन प्रस्ताव नदेख्ने अहिले बखेडा गर्ने ?’ उनले एमालेको दुईजिब्रे कार्यले मुलुकमा राजनीतिक संकट गहिरिँदै गएको बताए ।











प्रतिक्रिया