काठमाडौं, १७ मंसिर । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले त्रिविले स्ववियु निर्वाचनको लागि उमेरहद लगाए आफूहरू त्यसका विरुद्धमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
शुक्रबार नेविसंघ जिल्ला कार्यसमिति काठमाडौंले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्यले उमेरहद देखाएर कसैलाई पनि निर्वाचनबाट बाहिर राखिन नहुने बताए । उनले भने, ‘निर्वाचन प्रक्रियाबाट बाहिर राखिनु अलोकतान्त्रिक व्यवहार हो भन्ने हाम्रो ठहर छ ।’
अध्यक्ष वैद्यले आफूहरू स्ववियुको निर्वाचनको पक्षमा रहेको बताउँदै यथाशीघ्र चुनावको मिति घोषणा गर्न पनि माग गरे । उनले यसबारेमा भिसी, रजिष्ट्रार र रेक्टरलाई ज्ञापनपत्र बुझाउने बताए । मागको सुनुवाइ नभए नेविसंघ कार्यालयमा तालाबन्दी गर्ने र केन्द्रिय कार्यलय घेराउ गर्नेसम्मको चेतावनी दिए ।
नेविसंघका नेता हरिशचन्द्र भण्डारीले नेतृत्वले समय परिवेशलाई ध्यान दिएर निर्णय गर्नुपर्ने बताए । ‘समयको माग अनुसार भएन भने कडा आन्दोलन गर्ने छौँ’, भण्डारीले चेतावनी दिँदै भने, ‘हामीलाई आन्दोलन गर्न बाध्य नबनाइयोस ।’
पत्रकार सम्मेलनमा नेविसंघ पशुपति बहुमुखी क्याम्पसका एकाई अध्यक्ष रमेश खड्का, नेपाल ल क्याम्पसकी रञ्जिता कार्की, शंकरदेव क्याम्पसका हरिशचन्द्र भण्डारी, रत्नराज्यका लीला भट्टराई, पब्लिक युथका सुशील तिमल्सिना, सरस्वती क्याम्पसका चन्द्र रोका, त्रिचन्द्र क्याम्पसका विष्णु पौडेल, विश्वभाषाका प्रकाश रावल, पाटन संयुक्त क्याम्पसका रमेश रावत, सानोठिमी क्याम्पसका मोहनकृष्ण श्रेष्ठ, बानेश्वर क्याम्पसका खड्का सुब्बा, नेपाल कमर्स क्याम्पसका गोपाल चौलागाई र महेन्द्ररत्न क्याम्पसका बखतबहादुर शाही लगायतले उमेर हद लगाउने कुराको विरोध गरेका थिए ।
उनीहरुले २८ वर्षमाथिका भोट हाल्न पाउने तर उम्मेद्धवार बन्न किन नपाउने भन्दै प्रश्न समेत गरेका थिए ।












प्रतिक्रिया