काठमाडौं, १६ मंसिर । करौडौं रकम ठगी गरी फरार नवलपरासी बर्दघाट नगरपालिका–६ बसाई सराई गरेका प्युठान तोर्वाङ गाविस–६ चिस्वाङका ३८ वर्षीय ईश्वरीप्रसाद पोख्रेललाई काठमाडौं महानगरपालिका कमलपोखरीबाट बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरेलले सन्दीप दर्नाल, भिमबहादुर दर्जी, शान्ती राई समेत २३ जनालाई इजरायल पठाउने भनी १ करोड ५ लाख लिएको, सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भनी ३ लाख लिएको, रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनी २ लाख ५० हजार लिई सम्पर्क विहिन भई भारतको लखनउमा बस्दै आएको भन्ने पीडितबाट जानकारी आएपछि महानगरीय अपराध महाशाखाको विशेष टोलीले खोजतलास गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गर्न सफल भएको हो ।
निज उपर २०६७ सालमा नबिल बैंक र किष्ट बैंकलाई ठगी गरेको मुद्दामा अदालतबाट २ वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरीवाना फैसला भएको, २०७२ सालमा बाँके जिल्ला अदालतबाट ठगी मुद्दा दर्ता भई पुर्पक्ष भइरहेको, निजले धेरै व्यक्तिहरुलाई करोडौ ठगी गरे पश्चात अमेरीका जानको लागि प्रकृया गरिरहेको, विभिन्न बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गरेको र हाल भारत लखनउमा बस्दै मोटरपार्टस सप्लायर्स सम्बन्धी काममा संलग्न रहेको लगायतका कुराहरु प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान जारी रहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका कुराहरु :
- निज उपर २०६७ सालमा NABIL बैंक र किष्ट बैंकलाई ठगी गरेको मुद्दामा अदालतबाट २ वर्ष कैद र रु.२,२९,०००।– जरीवाना फैसला भएको ।
- २०७२ सालमा बाँके जिल्ला अदालतबाट ठगी मुद्दा दर्ता भई पुर्पक्ष भईरहेको ।
- निजले भारतको लखनउ र गोरखपुरमा बसी Indusind Bank मा खाता खोली गोरखपुर कै ठेगाना देखाई सवारी चालक अनुमती पत्र लिएको ।
- निजले लक्ष्मण रीजालको हिमालय बैंकको ATM समेत प्रयोग गर्ने गरेको ।
- बैंकिङ प्रयोजनको लागि ग्रीन सिटी, कृषी फर्म तथा बाख्रा प्रशोधन केन्द्र नवलपरासीमा दर्ता गरी विभिन्न बैंक, वित्तीय संस्था एवं व्यक्तिहरुलाई ठगी गर्ने गरेको देखिएको ।
- धेरै व्यक्तिहरुलाई करोडौ ठगी गरे पश्चात अमेरीका जानको लागि प्रकृया गरि रहेको ।
- निजले विभिन्न स्थानमा रहेका बेरोजगार युवायुवतीलाई विभिन्न प्रलोभनमा पारी ठगी गरेको हुन सक्ने देखिँदा सो विषयमा समेत थप अनुसन्धान जारी राखिएको ।












प्रतिक्रिया