भैरहवा, मंसिर १६ । विहीबार उज्यालो हुन नपाउदैं भैरहवाको सडकमा आगोको मुश्लो देखिएको छ ।
सरकारले मंगलबार सांझ संसदमा दर्ता गराएको संविधान संशोधनको विरोधमा अनेरास्ववियुले भैरहवाको मुख्य चौंक बुद्धचौंकमा आगो बालेको हो ।
एमाले निकटको विद्यार्थी संगठनले बुद्धचौंकमा आगोको मुश्लो उठाउदा भैरहवा क्षेत्रमा कहां के भएछ भनेर हल्ला खल्ला मच्चिएको थियो ।
विद्यार्थीहरुले नेपालको झन्डा र आफ्नो संगठनको झन्डा सहित बुद्धचौंकको चारै तर्फ टायर बालेर आगोको मुश्लो उठाउदैं सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका थिए ।
विहान विहानै उनीहरुले प्रचण्ड सरकार राजीनामा दे, ५ नम्बर प्रदेश टुक्राउन पाइदैन भन्दै चर्का नाराबाजी समेत गरेका थिए । विहानै देखी शुरु भएको विद्यार्थीको आन्दोलनलाई विद्यार्थी नेताहरु चक्र बहादुर थापा, लक्ष्मी केसी, शसी पन्थि, झक बहादुर आले, भीम भण्डारीले कमाण्डींग गरिरहेका छन् ।
यसैबीच ५ नम्बर प्रदेश टुक्राएको विरोधमा अनेरास्ववियु रुपन्देहीले आज रुपन्देही बन्दको आह्वान गरेको छ । संगठनका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले एक विज्ञप्ती जारी गर्दै सरकारले संशोधन प्रस्ताव फिर्ता नगरेसम्म अनिश्चितकालिन बन्द गर्ने जनाएका छन् ।

















प्रतिक्रिया