काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले राजनीतिक द्धन्द्ध निम्त्याउनेगरि संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै उक्त प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरे ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ज्ञवालीले मध्यरातमा सरकारले प्रस्ताव ल्याउनु नै यसको नियती प्रष्ट हुने बताउँदै भने, ‘यो सरकारको नियत प्रष्ट हुन्छ, मिलेर बसेको समूदायमा फाटो ल्याउनेगरि सरकारले प्रस्ताव ल्याएको छ, यो कुनै हालतमा मान्य छैन्, मिलेर बसेको समूदायकोवीचमा यो सरकारले पेट्रोल हालेर सलाई कोर्ने काम गरेको छ ।’ यद्धपी उनले संघीयतामा मुलुक गएकोले यसको कार्यान्वयनमा नगईकन संशोधन गर्नु न्यायोचित नहुने स्पष्ट पारे ।
उनले अहिले नेपालमा दुई वटा राष्ट्रियता स्थापित गर्नको लागि प्रपञ्च रचिएको भन्दै त्यसको विरुद्धमा आफ्नो पार्टीले सशक्त विरोध गर्ने चेतावनी दिए । अहिले सरकारले अघि सारेको संशोधन प्रस्ताव अनुसार प्रदेशको सिमांकन कुनै हालतमा हुन नसक्ने उनले जिकिर गरे । उनले भने, ‘कुन सिद्धान्तको जगमा बसेर काँक्रो चिरेझैं प्रदेश चलाउनुभएको हो, यसबारेमा प्रचण्डले जवाफ दिनुपर्छ ।’
ज्ञवालीले मुलुकलाई दुर्घट्नामा जानबाट रोक्नको लागि पनि सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरे । उनले अघि थपे, ‘सरकार गठन गर्दा प्रचण्डजीले को–को सँग सम्झौता गर्नुभएको थियो, उहाँले संशोधन प्रस्ताव ल्याउनुभयो, अब ग्रहशान्त्रि कट्यो, प्रस्ताव फिर्ता लिए राम्रो हुन्छ ।’













प्रतिक्रिया