४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधन प्रस्ताव ल्याएर सरकारले गम्भीर गल्ती गर्योः उपेन्द्र यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendrayadav-1

काठमाडौं, १५ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको अधुरो प्रस्ताव ल्याएर सरकारले गम्भीर गल्ती गरेको बताएका छन् ।

मंगलबार साँझ संसदमा दर्ता भएको प्रस्तावमा असहमति जनाउँदै यादवले आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेशमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ती गरेको बताएका हुन् ।

‘सरकारले मंगलबार राति दर्ता गराएको संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाइएको कुनै पनि मागको पूर्णरुपले सम्बोधन गरेको छैन,’ बुधबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– ‘संघीय गठबन्धनको असहमतिका बावजूद आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेशमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ती गरेको हाम्रो ठहर छ ।’

यादवले संशोधन प्रस्तावले राष्ट्रिय मुद्दाहरूलाई सम्बोधन नै नगर्ने भएपछि संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन नसक्ने बताएका छन् । ‘यो प्रस्तावले मुलुकलाई शान्ति, स्थिरता, राष्ट्रियता, राष्ट्रिय एकता, विकासको सट्टा थप द्वन्द, अन्योल र अस्थिरतातर्फ लैजाने कार्य मात्र गर्नेछ,’ चेतावनी दिँदै उनले भनेका छन् ।

यादवले यो प्रस्तावमा आन्दोलनरत पक्षहरूको असहमति हुँदाहुँदै जबरदस्ती ल्याइएको भन्दै यथास्थितिमा समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् । ‘सबै प्रकारका जातीय विभेद् र नश्लावादी राज्यसत्ताका विरोधमा हाम्रो संघर्ष एवं आन्दोलन जारी रहनेछ,’ उनले भनेका छन् ।

press-release-of-upendra-yadav-15-mansir-2073