१९ कार्तिक २०८३, बिहिबार

सबै नेपालीको स्वास्थ्यको जिम्मा सरकारले लिन्छ : मन्त्री थापा

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_0243ओखलढुंगा, १५ मंसिर । स्वास्थ्यमन्त्री गगन थापाले जनताको स्वास्थ्यको जिम्मा अब राज्यले लिन्छ, त्यसका लागि सरकारले सबै नेपालीको स्वास्थ्य बीमा गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।

उहाँले अब नेताले बढी सुविधा लिएको भन्ने गुनासो जनस्तरबाट आएको छ, त्यसलाई रोक्न र गरीब जनतासम्म स्वास्थ्य सेवाको पहुँच पु-याउने दृढता व्यक्त गर्नुभयो ।

क्युइँतबु कल्याण कोष र युवा नेत्र संघ ओखलढुंगाले मंगलबार संयुक्तरुपमा आयोजना गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्नु हुँदै मन्त्री थापाले यस्तो धारणा राख्नुभएको हो ।

कार्यक्रममा ओखलढुंगा क्षेत्र नं. २ का सांसद रामहरि खतिवडाले खिजीफलाटेमा एमबीबीएस अध्ययन गरेको चिकित्सक रहने खालको अस्पताल स्थापना गरिदिन स्वास्थ्यमन्त्रीसँग माग गर्नुभयो ।

सांसद खतिवडाले खिजीफलाटे क्षेत्रको विकासका लागि सडक यातायात, पुल निर्माण कार्य अगाडि बढेको जानकारी दिँदै इलाका प्रशासन कार्यालय स्थापना भएको र मालपोतलगायतका कार्यालय पनि आउन लागेको जानकारी दिनुभयो । उहाँले आँखा शिविरबाट आँखा नदेख्नेले आँखा देख्न पाउने भएकाले शिविर सञ्चालकहरुलाई धन्यवाद दिनुभयो ।

क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले राजधानीमा बस्ने धनी नेतालाई होइन गाउँका गरीब जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।

नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीप सुनुवार र माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चम्पक सुनुवारले यस ओखलढुंगाको पश्चिम क्षेत्र निकै दुर्गम र विकासका हिसाबले पछि रहेका छन् भन्नुभयो ।

सुनवार सेवा समाजका अध्यक्ष महासचिव समीर मुखियाले ओखलढुंगा, रामेछाप र सोलुखुम्बुका झण्डै एक दर्जन गाविसका बासिन्दाले आँखा शिविरबाट लाभ लिने बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रमोदकुमार यादवले बच्चाहरुमा थाहै नपाइकन आँखाको समस्या लाग्ने गरेको, चिनी (सुगुर) रोगका मानिसमा आँखाको समस्या बढी छन् भन्नुभयो । आँखा शिविर डाक्टर सिद्धार्थ रञ्जितको टोलीले सञ्चालन गरिरहेको छ ।