३ कार्तिक २०८३, मंगलबार

बिपी विचार यात्रा समापनको तयारी सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congressकाठमाडौं, २१ भदौ । यही भदौ २४ गते बिपी सङ्ग्रहालय सुन्दरीजलमा हुन गइरहेको बिपी विचार यात्रा समापनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति काठमाडौंले विभिन्न तयारी सुरु गरेको छ ।

भदौ २३ गते काठमाडौं आइपुग्ने यात्रालाई त्यस दिन मोटरसाइकल ¥यालीसहित नगर परिक्रमा गराई दिउँसो विशालनगर चोकमा रहेको पाटीमा विशाल सभा गरिने छ । जुन पाटीमा बिपी कोइरालालाई २००७ सालको क्रान्ति अगाडि बन्दी अवस्थामा ल्याएर राखिएको थियो ।

त्यस समयमा बिपीलाई राखिएको सम्झनामा बिपी यात्राका क्रममा आमसभा कार्यक्रम गर्न लागिएको कांग्रेस काठमाडौंका सभापति भीमसेनदास प्रधानले बताए । भदौ २४ गते बिहान ११ बजे नेपाल सरकारले निर्माण गरिरहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क स्मारक गोकर्णमा जम्मा भएर बिपी जन्म शतवार्षिकीको अवसरमा सयवटा बिरुवा रोपिने कार्यक्रम रहेको नेपाली कांग्रेस काठमाडौं ३ नं क्षेत्रीय सचिव श्रीकृष्ण ज्योतिले बताए ।

गोकर्णमा वृक्षरोपणपछि सुन्दरीजलसम्म तीन किलोमिटर पैदल यात्रा गरेर बिपी सङ्ग्रहालयमा पुगी विपी विचार यात्राको समापन कार्यक्रम गर्ने तय गरिएको कांग्रेसका ३ नं क्षेत्रीय सभापति एवम् पूर्व सभासद् चक्रबहादुर ठकुरीले बताए । समापन सभालाई प्रधानमन्त्री एवम् कांग्रेसका सभापति सुशील कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारीसमेत उनले बताए ।

कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी कांग्रेस जिल्ला कार्य समिति र ३ नं क्षेत्रीय समिति काठमाडौंलाई दिइएको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई २०१७ साल पुस १ गते ‘कु’ गरी तत्कालीन सुन्दरीजल आर्सनलका प्रमुख बस्ने भवनमा बन्दीगृह निर्माण गरी राखिएको थियो । त्यस समयमा यो बन्दीगृहलाई सुन्दरीजल बन्दीगृह भनेर आम मानिसले चिन्दथे । तर पञ्चायत सरकारले भने यसलाई गैँडा गस्ती नाम दिएको थियो ।

विक्रम संवत २०२५ मा यस बन्दीगृहबाट छुट्नुभएका कोइरालाले २०३३ सालसम्म भारतमा प्रवास जीवन बिताएका थिए । २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सून्दरीजल बन्दीगृह लगी कोइरालालाई फेरि बन्दी बनाइएको थियो ।

सुन्दरीजल बन्दीगृह बसाइका क्रममा बिपीले साहित्य सिर्जनासमेत गर्नुभएको थियो । बिपीको दोषी चस्माबाहेक सबै साहित्यिक कृति सुन्दरीजल बन्दीगृह बसाइकै क्रममा रचना गरिएको बिपीको साहित्यिक कृतिका विषयमा अनुसन्धान गरेका ज्ञाननिष्ठ ज्ञवालीले बताए ।

बिपी जीवनमा सबैभन्दा बढी समय बसेको ठाउँ यही बन्दीगृह भएको बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोख्रेलले बताए । जुन बन्दीगृहलाई पोख्रेललगायतका व्यक्तित्वहरुको सक्रियतामा २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालय घोषणा गरिएको थियो । यही सम्झनामा नेपाली कांग्रेसले बिपी विचार यात्राको समापन बिपी सङ्ग्रहालयमा गर्न लागेको हो ।