रुकुम, २१ भदौ । रुकुम जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले जनतासँग भेटघाट कार्यक्रम थालेका छन् । सर्वसाधारण सेवाग्राहीका गुनासा तथा सेवा प्रवाहको बारेमा उनीहरुसँग भएका जिज्ञासा मेटाउन सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु गाउँ जान लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा प्रत्येक महिना एउटा गाविसमा गएर त्यहाँका स्थानीयसँग अन्तरङ्ग गर्ने गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सेवाग्राहीका गुनासा र जिज्ञासा सुन्ने र सम्भव हुने कुरा तत्कालै सम्बोधन गर्ने गरेको छ । हालसम्म चौखावाङ तथा मुरु गाविसमा भेटघाट कार्यक्रम लिएर जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु पुगेका छन् ।
सेवा प्रदायक निकाय र सेवा लिनेबीचको सम्बन्धमा सुमधुरता कायम गर्न तथा सेवाग्राहीका गुनासा सुन्न भेटघाट कार्यक्रम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद भण्डारीले बताए । ‘कतिपय सर्वसाधारण जिल्लासम्म पुगेर आफ्नो कुरा राख्ने अवस्था नहुन सक्छ प्रजिअ भन्डारीले भन्नुभयो, गाविसमा भएका सबै सेवाग्राहीसँग अन्तरङ्ग गरौँ, उनीहरुका जिज्ञासा तथा गुनासा सुनौँ भनेर यो अभियान थालिएको हो ।’
भेटघाटका क्रममा स्थानीयले विशेष गरी विकास निर्माणका कुरामा जोड दिने गरेका छन् । विकास निर्माणअन्तर्गत खानेपानी, विद्युत्, सिँचाइलगायतका माग अधिकांश ठाउँका सर्वसाधारणको रहेको स्थानीय विकास अधिकारी भरतकुमार शर्माले बताए ।
यसैगरी गाविसमा रहेका सरकारी कार्यालयले दिने सेवा र त्यसको प्रभावकारीताको विषयमा पनि स्थानीयले प्रश्न उठाउने गरेका छन् । गाविस सचिव सम्बन्धित गाविसमा नबस्नु, स्वास्थ्य चौकीमा औषधि नपाइनु, पशु तथा कृषिजन्य समस्या समाधानको उपयुक्त व्यवस्था नहुनु जस्ता गुनासा सर्वसाधारणले राख्ने गरेका छन् ।
जिल्लाका सबै कार्यालयका प्रमुखहरु गाउँमा आएर आफ्ना पीरमर्का सुन्दा खुसी लागेको सर्वसाधारणले बताएका छन् । महिनामा एकपटक भए पनि सर्वसाधारणकहाँ कार्यालय प्रमुखहरु पुग्दा त्यसले निकै प्रभाव पार्ने मुरु गाविसका राज पुनले बताए ।
जिल्लामा क्रियाशील गैरसरकारी सङ्घसंस्था, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु पनि जनतासँग भेटघाट कार्यक्रममा सहभागी भइरहेका छन् ।















प्रतिक्रिया