काठमाडौं, १३ मंसिर । भ्रष्टाचार विरुद्ध नेपालले युनिटी काण्डमा विना कसुर विश्वनाथ गौतमलाई झूठा मुद्दा लगाएर थुनामा राखिएको भन्दै तत्काल रिहाई र उचित क्षतिपुर्तिको माग गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपालले यस्तो माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपालका अध्यक्ष ईं.रामकुमार ठाकुरले युनिटि लाईफ ईन्टरनेश्नल लिमिटेडको छानविन समितिले २०६७ साल जेठ ९ गते तयार गरेको प्रतिवेदनको आधारमा अन्यायपूर्वक कारागार जीवन बिताईरहेका पीडित गौतममाथि लगाईएको झूठा मुद्दा तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
उनले सबै प्रमाण जुटाउँदा आरोपीत गौतम उक्त युनिटीका सञ्चालक नभई एक निर्देशक तहका कर्मचारी भएको प्रमाणित भएकोले उनीमाथि गलत प्रतिवेदनको आधारमा झुठा मुद्दा लगाईएको आफ्नो ठहर रहेको भन्दै पीडित गौतमलाई तत्काल रिहाई गर्नुपर्ने माग राखे ।
त्यस्तै कार्यक्रममा युनिटी लाईफका तत्कालिन अध्यक्ष काशीप्रसाद गुरुङ्ले आरोपित गौतम निर्दोष रहेको दाबी गरे । उनले अघि थपे,‘मैले विश्वनाथ गौतमजी केवब युनिटीका निर्देशक तहका कर्मचारी मात्रै भएको भनि लिखित पत्र नै दिएको र अदालतमा पनि उहाँ निर्दोष रहेको बयान दिँदा पनि अहिलेसम्म कुनै कारबाही भएको देखिएन, उहाँ ठूलो अन्यायमा हुनुहुन्छ ।’
गौतमकी श्रीमती दिपा गौतमले आफ्नो श्रीमानलाई राज्यले झुठा मुद्दा लगाएर फसाएको आरोप लगाईन । उनले थपिन,‘मेरो श्रीमान दोषी हो भने कारवाही होस, यदि निर्दोष हो भने तत्काल उचित क्षतिपूर्तिसहित रिहाई होस् ।’ गौतमले आफू तीन महिनादेखि न्यायको लागि निरन्तर धर्नामा बस्दापनि राज्यले बेवास्ता गरेको गुनासो पोखिन् ।













प्रतिक्रिया