बागलुङ, १२ मंसिर । नेकपा एमाले बागलुङको आसन्न जिल्ला अधिवेशन र संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर एमालेले जिल्ला व्यापी संगठन सुदृढिकरण अभियान सञ्चालन गरेको छ ।
जिल्लामा १० वटा कलष्टर निर्माण गरी पार्टीका नेता कार्यकर्तालाई अभियानमा सक्रिय बनाएको एमालेले आगामी निर्वाचनबाट पार्टीलाई जिल्लामा पहिलो शक्तिका रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।
अभियानकै क्रममा कलष्टर नम्बर ८ अन्तरगतका धुल्लुबाँस्कोट, हुग्दिशिर, बाटाकाचौर, सल्यान र सुखौरा क्षेत्रमा भेटघाट, अन्तरक्रिया तथा गाउँ अधिवेशन र भेलाहरु सम्पन्न भएका छन् ।
अभियानकै क्रममा शनिवार धुल्लुबाँस्कोटमा गाउँ भेला सम्पन्न भएको छ । भेलामा बोल्दै एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसीले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि संविधान संशोधन नभई कार्यान्वयनतर्फ अग्रसर हुन राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो ।
नेकपा एमाले बागलुङले सञ्चालन गरेको संविधान कार्यान्वयनका लागि जिल्ला अभियानका क्रममा शनिवार धुल्लुबाँस्कोट गाविसमा आयोजित गाउँ भेलालाई सम्बोधन गर्दै जिसीले संशोधनका नाममा अलमल नगर्न आग्रह गर्नु भएको हो ।
संविधान कार्यान्वयन नै नभई संशोधनमा अल्झिने कार्यले मुलुकको हित नहुने भन्दै उहाँले कार्यान्वयनका क्रममा आउने समस्यालाई संशोधन मार्फत समाधान गर्न सकिने बताउनु भयो ।
देशको आर्थिक विकासका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनु पर्नेमा जोड दिदै उहाँले सहकारी मार्फत कृषिमा आधुनिकीकरणको योजना ल्याउन दवाव आवश्यक रहेको बताउनु भयो ।
हाम्रो जस्तो कृषि प्रधान मुलुकको आर्थिक विकासको मुख्य आधार सहकारी भएकाले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा एमाले बागलुङका सचिवालय सदस्य सावित्रा राना, एमाले जिल्ला कमिटि बागलुङका पूर्व सदस्य धनिश्वर पौडेल, अखिल नेपाल किसान महासंघ बागलुङका सदस्य तिलक थापा, स्थानीय समाजसेवी ताराप्रसाद शर्मा लगायतले एमालेले लिएको नीति सही भएपनि नेतृत्व एमालेको नभएका कारण देशको आर्थिक सामाजिक रुपान्तरण नभएको बताउनु भएको थियो ।
भेलाले तिलक थापाको अध्यक्षतामा नेकपा एमाले धुल्लुबाँस्कोट गाउँ कमिटि सर्वसम्मत चयन गरेको छ । कमिटिको उपाध्यक्षमा दुर्गाबहादुर थापा मगर, सचिवमा बलबहादुर थापा मगर, उपसचिवमा सिर्जना थापा मगर तथा सदस्यहरुमा हेमराज शर्मा, डोलबहादुर केसी, ताराप्रसाद शर्मा, देविदत्त शर्मा, ललित पाध्या, सकसबहादुर थापा मगर र सम्झना थापा मगर रहनु भएको छ ।
नेकपा एमाले बागलुङको आठौ जिल्ला अधिवेशन मंसिर २५ देखि २७ गतेसम्म बागलुङ बजारमा हुदैछ ।













प्रतिक्रिया