– विक्रम गिरी/रासस
काठमाडौं, १२ मंसिर । पत्रकार कर्ण बोहराको पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।
शुक्रबार बानेश्वरस्थित भेनस अस्पतालमा निधन भएका बोहराको आज साँझ अन्त्येष्टि गरिएको नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगरले जानकारी दिनुभयो । श्रीमती ममता बोहरालाई मध्यवानेश्वरस्थित भेनस अस्पतालमा उपचार गराइरहेका बोहराको कुरुवा रहेको अवस्थामा शुक्रबार दिउँसो अचानक निधन भएको हो ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बोहराको पार्थिक शरीरमा महासङ्घको लोगो अङ्कित झण्डा ओढाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । अन्त्येष्टि कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, सांसद प्रेम आले, नेकपा (माओवादी केन्द्र) प्रवक्ता पम्फा भुसाल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस युनियन नेपालका महासचिव अजयबाबु सिवाकोटी लगायतको उपस्थिति थियो ।
बोहराको पार्थिव शरीरमा उहाँका दाजु जयलाल बोहराले दागबत्ती दिनुभएको थियो । अन्त्येष्टि कार्यक्रममा बोहराकी आमा ७२ वर्षीया हर्कदेवी बोहराको समेत उपस्थिति थियो । विसं २०३५ असार २२ गते बझाङको स्याँडी गाविस– ६ मा जन्मिनु भएका बोहरा नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाको विसं २०६८ देखि २०७१ सम्म अध्यक्ष रहनुभएको थियो ।
बोहरा कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित हुने ‘पश्चिम नेपाल’ दैनिकका प्रकाशक तथा ‘रेडियो पश्चिम नेपाल एफएम’का सञ्चालक रहनुभएको थियो । यसैगरी न्यूज ट्वान्टी फोर टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुखसमेत रहनु भएका बोहरा श्रीमतीको मिर्गौलाको उपचारका क्रममा काठमाडौँ आउनुभएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य खगेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँ मधुमेह रोगबाट ग्रसित रहनु भएको थियो ।














प्रतिक्रिया