काठमाडौं । पत्रकार फूलमान वलले आफ्नो पहिलो कथा संग्रह ‘काजोल खातुन’ को कर्पोरेट लञ्च आफूलाई पत्रकारिता सिकाउने अग्रज पत्रकारहरुको हातबाट गराएका छन् ।
कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा, अन्नपूर्ण पोष्टका प्रधानसम्पादक युवराज घिमिरे, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुईंटेल र नेपाल साप्ताहिकका प्रधानसम्पादक प्रशान्त अर्यालले संयुक्त रुपमा काजोल खातुनको अनौपचारिक विमोचन शनिबार राजधानीमा गरे ।
प्रकाशक संस्था बुकहिल पब्लिकेसन्स्ले पुस्तकको औपचारिक विमोचन आगामी साता गर्ने जानकारी दिएको छ ।
‘काजोल खातुन’ र फूलमान वलको लेखनीप्रति टिप्पणी गर्दै शेखर खरेलले द्वन्द्वकालका घटनामाथि आधारित भएपनि कथाहरुले अहिलेको परिवेश समेत बोलेको बताउनुभयो । ‘फूलमानजी कविताबाट साहित्यमा प्रवेश गर्नुभएकाले होला । कथामा पनि अनौठो किसिमको लालित्य छ । उहाँको लेखनीले पाठकलाई बाँधी राख्छ ।’
अर्का टिप्पणीकार एवं वरिष्ठ पत्रकार मोहन मैनालीले द्वन्द्वमार्फत् सामाजिक चरित्र उधिन्ने काममा फूलमान वलले कथाबाटै साहित्य शिल्पको प्रचुर सम्भावना पोखेको बताउनुभयो । कथा संग्रहमा अटाएका पात्र र प्रवृतिले द्वन्द्वपछि पनि रुपान्तरण हुन नसकेको सामाजिक मनोविज्ञानलाई राम्ररी छताछुल्ल पारेको मैनालीले बताउनुभयो ।
वललाई शुभकामना दिंदै कान्तिपुर दैनिकका प्रधानसम्पादक शर्माले भन्नुभयो, ‘पूmलमानजी समाचारकक्ष बाहिर पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ । साहित्यमा उहाँको क्रियाशिलता बढ्दै जाओस् ।’
त्यस्तै नेपाल साप्ताहिकका प्रधानसम्पादक अर्याल र नागरिकका प्रधानसम्पादक लुईंटेलले पत्रकारितामा ख्याति कमाइसकेका वललाई साहित्य यात्रामा पनि सफलता मिलोस् भन्ने कामना गर्नुभयो ।
त्यस्तै अन्नपूर्ण पोष्टका प्रधानसम्पादक घिमिरेले द्वन्द्वको एक किसिमले अवसान भएपनि नेपाली समाज त्यसको छायाँबाट मुक्त हुन नसकेको समयमा काजोल खातुन सार्वजनिक हुनु संयोग भएको उल्लेख गर्नुभयो ।
त्यस्तै पत्रकार एवम् लेखक नारायण वाग्लेले द्वन्द्वका घटनामा लेख्न काम गाह्रो भएपनि जोखिम मोलेकोमा वललाई साधुवाद दिए ।
कार्यक्रममा कथाकार वलले विभिन्न घटनाक्रमहरुले झक्झकाउने काम गरेकाले नै कथा र पात्रहरु जन्मिएको बताए । कथा संग्रहमा रहेका धेरैजसो कथाका पात्रहरुलाई आपूmले नजिकबाट नियाल्ने मौका पाएको उनले सुनाए ।
दुई सय ८ पृष्ठमा १३ कथा संगृहित ‘काजोल खातुन’को मूल्य २ सय ९९ तोकिएको छ । १३ वर्षअघि कथा संग्रहको पहिलो संस्करण निकालेका वलले त्यसमा ६ वटा नयाँ थपेर बुकहिलमार्फत् नयाँ संस्करण बजारमा ल्याएका हुन् ।















प्रतिक्रिया