काठमाडौँ, १० मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले विपन्न वर्गका विद्यार्थी पढ्ने सामुदायिक विद्यालयको स्थिति नाजकु रहेकाले त्यसलाई सुदृढ गर्न आफूले सहयोग गर्ने बताउनुभएको छ ।
उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले दशवर्षे जनयुद्धले उत्पीडित वर्गको अधिकार प्राप्तिका लागि चेतना विकास गरे पनि सोचेजति अधिकार पाउन नसकिएको बताउनुभयो ।
उत्पीडित, उपेक्षित समुदायका जनताले बढीभन्दा बढी अधिकार पाउने गरी आफूले राष्ट्रिय दलित आयोग, मधेसी आयोग, समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र आदिवासी जनजाति आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३ व्यवस्थापिका¬–संसद्मा पेस गरेको बताउँदै उहाँले विधेयकमा थपघट गर्नुपर्ने भएमा सुुझाव दिन आग्रह गर्नुभयो ।
सो अवसरमा मन्त्री पाण्डेले सामुदायिक तथा निजी विद्यालयबाट यसवर्षको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएर उतीर्ण हुने दलित समुदायका छात्रछात्रालाई सम्मान गर्नुभएको थियो । सरकारी विद्यालयतर्फ नेपाल प्रथम हुने श्री देवानन्दन देवरजी उमावि रामनगरी पर्साका दलित छात्र मुक्ति राम (३.८ जिपिए), सरस्वती उमावि आहाले गोरखाकी छात्रा दीक्षा सुनार (३.९ जिपिए) तथा निजी विद्यालयतर्फ नेपाल प्रथम हुने नालाण्डा बोर्डिङ स्कुल ललितपुरका सोलोमन विश्वकर्मा (३.८ जिपिए) र मिनिल्याण्ड इङ्लिस हाई स्कुल डाँछी काठमाडौँकी छात्रा कविता मालमुल (३.९ जिपिए) लाई सम्मान गरिएको थियो ।
त्यस्तै सरकारी र निजी विद्यालयतर्फ पूर्वाञ्चल प्रथम हुने छात्रछात्रा क्रमशः श्यामकुमार दास (सिरहा), रीमा विसङ्खी (धनकुटा), कर्तव्य राजकिरण नेपाली (उदयपुर) र अन्जना खाती (सप्तरी), मध्यमाञ्चल प्रथम हुने सुरज विक (नुवाकोट), सञ्जु परियार (काभ्रे), सुकराम सुनार (सिन्धुपाल्चोक) र सुप्रिया वागचन्द (डोटी), पश्चिमाञ्चल प्रथम हुने कृष्ण नेपाली (लमजुङ), कृपा सार्की (कास्की), अर्जुन सुनार (अर्घाखाँची) र दिव्या विक (पर्वत), मध्यपश्चिम प्रथम हुने दिपक सार्की (डोल्पा), सुष्मा नेपाली (दाङ) र प्रदीप विश्वकर्मा (दाङ) तथा सुदूरपश्चिमाञ्चल प्रथम हुने संजिव टमट्टा (अछाम) र सुमन विक (कैलाली) लाई सम्मान गरियो ।













प्रतिक्रिया