१९ कार्तिक २०८३, बिहिबार

मलाई लोकप्रियता चाहिएको छैन, जनतालाई बिजुली चाहिएको छः उर्जामन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-sharma

नेपालगञ्ज, १० मंसिर । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडसेडिङ घटाउने सरकारको अभियानमा साथ दिन आम उपभोक्ताहरुलाई अनुरोध गर्नुभएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रको उद्घाटन गर्नुहुँदै उहाँले लोडसेडिङ घटाउने सरकारको अभियानमा सक्रिय रुपले सहयोग गर्न आव्हान गर्नुभएको हो । पिक आवरमा धेरै उर्जा खर्च गर्ने खालका उपकरणहरु जस्तै वासिङ मेसिन, हिटर, आइरन, नचलाउन उहाँले आग्रह गर्नुभयो ।

“तपाईहरुको सानो सहयोगले देशभर लोडसेडिङ घटाउन सहयोग पुग्छ ।” मन्त्री शर्माले भन्नुभयो “उर्जा बचत गर्ने कार्यलाई हामी सबैले आआफ्नो नैतिक कर्तव्य सम्झौं ।”

उहाँले बत्ती बाल्नको लागि पनि परम्परागत चिमको साटो आधुनिक खालका एलईडी बल्ब प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले सरकारी कार्यालयहरुलाई पनि अनावश्यक रुपमा हिटर बाल्ने र एसी चलाउने काम बन्द गर्न निर्देशन दिनुभयो ।

उहाँले आफूले मन्त्री भएको दिनदेखि नै लोडसेडिङ कसरी घटाउन सकिन्छ भन्ने विषयमा चिन्ता र चासो दिएकोले नै अहिले मुलुकलाई अन्धकारबाट मुक्त गराउन सकिएको अनुभव सुनाउनुभयो ।

अर्को एक प्रसंगमा मन्त्री शर्माले आगामी आफूलाई लोकप्रियताभन्दा जनतालाई बिजुली चाहिएको बताउनुभयो । केही महिनाका लागि हुने मन्त्रीले कुलेखानीको पानी रित्याएर लोडसेडिङ्ग हटाएको भन्ने आधारहीन हल्लाका पछि नलाग्न सवैलाई आग्रह गर्नुभयो । हिउँदको लागि चाहिने कुलेखानी अहिले चलाउनुहुँदैन भन्ने कुराको हेक्का आफूलाई राम्रोसँग भएको भन्दै उहाँले त्यसलाई आलोचना गर्ने बहाना केही नपाएर रचिएको झुटो कथाको संज्ञा दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणले तिहारयता राजधानी लगायत देशका मुख्य शहरहरुमा लोडसेडिङ अन्त्य गरेको छ । लोडसेडिङ कटौति भए यता राजधानीमा मात्र १६ अर्ब बराबरको डिजेल बचत भएको व्यवसायीहरुले बताउँदै आएका छन् ।