दाङ, १० मंसिर । दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले केही दिनअघि भारत भ्रमण गरेको विषय आलोचित बनेको छ ।
औद्योगिक क्षेत्रको अध्ययन अवलोकन भ्रमण गर्नुपर्नेमा गोवामा लाखौँ रकम सिध्याएको भन्दै दाङका स्थानीय व्यवसायीहरू आक्रोशित भएका हुन् । संघका पदाधिकारी, पूर्वअध्यक्ष तथा कर्मचारीसहितको १७ सदस्यीय टोलीले कात्तिक १८ देखि ३० गतेसम्म भारतको हैदराबाद , मुम्बई र गोवाको भ्रमण गरेको थियो ।
संघमा आबद्ध सरोकारवालाले भ्रमणपूर्व नेपालका औद्योगिक क्षेत्रको अध्ययनका लागि जाने र नजानेवीच बिबाद पनि भएको थियो । बिबाद हुँदाहुँदै वर्तमान कार्यसमितिले निर्णय गरेर गोवा भ्रमणमा निस्किएको थियो ।
‘जाने नै भए नेपालका औद्योगिक क्षेत्रको अध्ययन अवलोकनमा जाँउ भनेर मैले भनेको हुँ’, संघका पूर्वअध्यक्ष चन्द्रराज पन्तले भने, ‘तर उहाँहरू भारत भ्रमणमा जानुभए छ ।’
संघका उद्योग उपाध्यक्ष खडग बुढाथोकी, सचिव सुशील प्रकाश आचार्य र अन्य दुई सदस्य बाहेक कार्यसमितिका सबै पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य र कर्मचारीहरू भ्रमणमा गएका थिए ।
भ्रमणका क्रममा बहुउद्देस्यीय सभागृह बनाउने भनी संकलन गरिएको पैसा टोलीले सिध्याएको छ । टोलीले करीव १२ लाख बराबर रकम भारत भ्रमण गरेर सिध्याएको आरोप छ ।
संघका तर्फबाट प्रतिव्यक्ति २५ हजार र र अन्य खर्च व्यक्तिगत रुपमा व्यहोर्ने गरी खर्च गरिएको हो । सभागृह निर्माण गर्ने भनेर संकलन गरिएको करीव ५ लाख बराबरको रकम भ्रमणका क्रममा सिध्याइएको छ । सभागृह निर्माणका लागि अन्य क्षेत्रबाट रकम संकलन गरिरहेको संघको कार्यसमिति आफैले व्यक्तिगत नै भएपनि रकम खर्च गर्नु उपयुक्त नभएको व्यवसायीहरूको भनाई छ । ‘ सभागृह निर्माणका लागि अरु क्षेत्रमा हात फैलाउँदै हिँडनुपर्ने स्थिति छ’, एक व्यवसायीले भने, ‘संघको कार्यसमिति भने घुमघाम भन्दै पैसा सिध्याइरहेको छ ।’
संघले २०६५ सालदेखि वर्षेनि भ्रमणका नाममा यसरी रकम सिध्याउँदै आएको छ । तर यसपटक पहिलो पटक भारत भ्रमणमा गएर आलोचित भएको हो ।
बहुउद्देस्यीय सभागृह निर्माणका लागि संघले २ पटक बृहत औद्योगिक तथा व्यापारिक महोत्सव सम्पन्न गरिसकेको छ । पहिलो पटक २०६९ सालमा आयोजना गरिएको महोत्सवबाट ५१ लाख र गतवर्ष फागुनमा आयोजना गरिएको महोत्सवबाट २३ लाख संकलन भएको थियो ।
महोत्सवमा उल्लेख्य रकम संकलन गरेपनि बचतभन्दा खर्च बढी गरेको भन्दै व्यवसायीहरूले नेतृत्वको आलोचना गरेका थिए ।
करीव २ महिना स्थानीय बजारमा व्यापार ठप्प पारेर पुँजी भारत पलायन गराएको भन्दै व्यवसायीहरूले महोत्सवको आलोचना पनि गरेका थिए । ‘फेरि पनि व्यवसायी तथा महोत्सवबाट उठेको रकम भ्रमणका नाममा भारत पलायन गराइएको छ’, एक व्यवसायीले गुनासो गर्दै भने, ‘विना उद्देस्यले गरिने भ्रमणले पैसा मात्रै सकिन्छ । दाङलाई कुनै फाइदा पुगाउँदैन ।’
दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसालले आफूहरू सभागृहको पैसा खर्च गरेर भारत भ्रमण नगरेको दाबी गरे । उनले भने, ‘हामीविरुद्ध गलत प्रचार भइरहेको छ ।’ उनले भारतको गोवामा रहेका उद्योगहरूको अवलोकन गर्न गएको दाबी गरे ।















प्रतिक्रिया