३ कार्तिक २०८३, मंगलबार

एमाओवादी चितवनमा फेरि विवाद, दुई नेतालाई पार्टीबाट निलम्वन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umaobadi Logo

रत्ननगर (चितवन), २० भदौ । एकीकृत नेकपा (माओवादी)ले जिल्लाका दुईजना नेतालाई निलम्वन गरेको छ ।

पार्टी हित विपरीत कार्य गरेको भन्दै यसअघिका जिल्ला सेक्रेटरी रमेश रेग्मी अमर र जिल्ला नेता विष्णुहरि तिमिल्सिनालाई साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरिएको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले आज जानकारी दिनुभयो ।

यसअघि रेग्मीले जिल्लामा समानान्तर कमिटी गठन गर्नुभएको थियो । उहाँकै अध्यक्षमा भट्टराई पक्षीय जिल्ला नेताहरुले समानान्तर कमिटी गठन गरेका हुन् ।

यसैबीच प्रचण्ड पक्षीय एकीकृत नेकपा (माओवादी) चितवनले जिल्ला पार्टी कार्यालय बेच्न लागेको आरोप लगाउँदै वैद्य नेतृत्वको नेकपा–माओवादी र डा. बाबुराम भट्टराई पक्षीय एकीकृत माओवादीका नेताहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी पार्टी कार्यालय खरिद बिक्री नगर्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा नेकपा–माओवादीका केन्द्रीय सदस्य अनिल शर्मा र समानान्तर कमिटीको नेतृत्व गरेको एकीकृत नेकपा (माओवादी)का यसअघिका सेक्रेटरी रमेश रेग्मीको हस्ताक्षर रहेको छ । वैद्य नेतृत्वका माओवादी जिल्ला नेता किरण पोख्रेलले कुनै पनि हालतमा पार्टी कार्यालय खरिद बिक्री हुन नदिने बताउनुभयो ।

यता भर्खरै नयाँ समितिको अध्यक्ष हुनुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष यमबहादुर परियारले भने कार्यालय बेच्ने भन्ने कुरा आफूलाई जानकारी नभएको बताउनुभयो । पार्टी कार्यालयको विवाद समाधान गर्ने दुवै पार्टीका केन्द्रीय नेतृत्व सम्मिलित टोलीले काम गरिरहेकाले केन्द्रमै सहमतिमा निर्णय हुने बताउनुभयो ।

अघिल्लो वर्ष पार्टी कार्यालयको स्वामित्वको विवाद हुँदा यहाँ गोली चलेको थियो । सो क्रममा दुईजना गम्भीर घाइतेसमेत भएका थिए । त्यसपछि उक्त क्षेत्रमा प्रहरीले सुरक्षा दिँदै आएको थियो । पछि पार्टी कार्यालय भागवण्डा गर्ने सहमति भए पनि भागवण्डा अहिलेसम्म भएको छैन । त्यसकारण दुवै पार्टीले अलगअलग स्थानमा भाडा तिरेर पार्टी कार्यालय चलाउँदै आएका छन् । रासस