– नरेश केसी
भैरहवा, ८ मंसिर । आमाको मृत्यु र बुवाको जेल चलान पश्चात अभिभावक विहीन भएकी १३ वर्षीय विनिता नेपालीलाई एसओएस बालग्राम लुम्बिनीले संरक्षण दिएको छ ।
विनिताकी आमा सुनकुमारीको आफ्नै श्रीमान् धु्रव नेपालीको कुटाईबाट कात्तिक २७ गते मृत्यु भएको थियो ।
आमाको मृत्यु पश्चात सुनकुमारीको उपचारमा सहयोग गरेको लुम्बिनी प्रेस क्लबको आग्रहमा जिल्ला बाल कल्याण समिति रुपन्देहीले विनितालाई तत्कालका लागि माईती नेपाल भैरहवामा राखिएको थियो । बुधबार बाल कल्याणको आग्रह अनुसार विनिताको सम्पूर्ण रेखदेख र शिक्षादीक्षा दिने गरी एसओएस बालग्राम लुम्बिनीमा राख्ने भएको हो ।
आमाको मृत्यु पछि परिवारमा रहेका दाजु वैदेशिक रोजगारका लागि मलेसिया रहेको र प्रहरीले बुवालाई जिल्ला कारागार रोल्पामा चलान गरेपछि सहाराविहीन बनेकी बालिका विनीताले अब एसओएसको जिम्मामा आफ्नो शिक्षादीक्षा लिने भएकी छिन् ।
आफ्ना नातेदारहरु कोही पनि विनिताको जिम्मा लिन तयार नभएपछि जिल्ला बाल कल्याण समिति रुपन्देहीको अनुरोधमा एसओएसले बालिकालाई बुधबार सबै कागजात मिलाई जिम्मा लिएको जिल्ला बाल कल्याण समिति रुपन्देहीकी सदस्य ज्ञानु पौडेलले जानकारी दिईन् ।
अनाथ तथा अभिभावकविहीन बालबालिकाको लागि अन्र्तराष्ट्रिय स्तरमै ख्याति प्राप्त एसओएसले विनिताको जिम्मा लिएपछि उनको भविष्य समेत उज्ज्वल बन्ने अपेक्षा रहेको लुम्बिनी प्रेस क्लबका कोषाध्यक्ष कमल रायमाझीले बताए ।
एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक विजय विक्रम राणाले समेत विनिता अब एसओएसको छोरी भएको भन्दै उनको लालनपालन र शिक्षादीक्षामा आफूहरुले जिम्मा लिएको बताए ।
श्रीमान्को कुटाईबाट मरणासन्न हुन पुगेकी सुनकुमारीको आर्थिक अभावका कारण युनिभर्सल कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भैरहवामा उचित उपचार हुन नसकेपछि उनको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जिम्मा लिई उनको जीवन बचाउनको लागि खटिएको लुम्बिनी प्रेस क्लबले समेत सुनकुमारीको मृत्यु पश्चात अभिभावकविहीन बनेकी विनितालाई एसओएस बालग्रामले जिम्मा लिनु उसको सामाजिक उत्तरदायित्व रहेको जनाएको छ ।
सुनकुमारीलाई बचाउनका लागि भैरहवाका क्रियाशील पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लब र उपराष्ट्रपति पुत्र दिपेश पुनले प्रयास जारी राखेपनि सफल हुन नसकेपछि सुनकुमारीको मृत्यु भएको थियो । पत्रकार, नागरिक समाज, जिल्ला प्रशासन कार्यालय रुपन्देही र जिल्ला बाल कल्याण समिति रुपन्देहीको प्रयासपछि आज बुधबार उनलाई एसओएसको जिम्मा दिइएको हो ।













प्रतिक्रिया