काठमाडौं, ७ मंसिर । सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले संघीयताको नाममा राष्ट्रलाई बन्धक बनाउन नहुने भन्दै विवादित ठाउँमा जनता र जनप्रतिनिधिको निर्णय अनुसार अघि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता भण्डारीले भने, ‘नेपालमा संघीयता नै बाधक हो भने यसलाई जनमतसंग्रहबाट टुँगो लगाउनुपर्छ, यसको नाममा मुलुकलाई बन्धक बनाउने काम कसैले गर्नुहुँदैन, अबको भावी पुर्खा अलमलिएर बस्न हुँदैन र सक्दा पनि सक्दैनन् ।’
नेता भण्डारीले संविधान कार्यान्वयनको लागि निर्वाचन अनिवार्य आवश्यकत्ता रहेको उल्लेख गर्दै थपे, ‘संविधान कार्यान्वयनमा सीमांकनसँग जोडेर स्थानीय चुनाव गर्न नदिने हो भने, जति चुनाव हुन्छ त्यो गर्दै जानुपर्छ, अब मुलुकलाई चुनावविहीन बनाएर राख्नुहुँदैन ।’
उनले विगतमा संविधान निर्माणको क्रममा मधेश केन्द्रित दलका केही व्यक्तिहरुलाई बाहिर राख्दा मुलुकले ठूलो समस्या भोगेको स्मरण गर्दै भने, ‘अहिले संविधान संशोधनको क्रममा हामी खुट्टा कमाई राखेको छौं भने एमालेजस्तो पार्टीलाई बाहिर राखेर संविधान संशोधन गर्ने हो भने भोलि यो देशको अवस्था के होला ?’
भण्डारीले संविधान कार्यान्वयनमा दलहरु मिल्नुको विकल्प नभएको समेत स्पष्ट पारे । उनले भने, ‘सरकारमा बस्न रहर लाग्छ अनि कुर्सीमा बस्न मन लाग्छ अनि चुनाव गराउनुपर्दैन् ।’
उनले पहाड र मधेश मिलेर बस्नै हुन्न भन्ने मानसिकताका कुराहरु बाहिर आएकोमा कडा आक्रोश पोख्दै भने, ‘को कहाँ बस्ने भन्ने कुरा काठमाडौंमा बसेर दुई जना नेताले फैसला गर्ने होईन, त्यो त्यहीँका जनताले फैसला गर्ने कुरा हो ।’













प्रतिक्रिया