काठमडौं, ७ मंसिर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यद्वय जगदीश पाल र परमानन्द भट्टले पार्टी परित्याग गरेर नेपाली कांग्रेसको सदस्यता लिएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय पाल र भट्टराई सदस्यता प्रदान गरेका हुन् ।
कांग्रेसमा प्रवेश गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य पाल दार्चुला जिल्ला देथला गाविस वडा नम्बर १ निवासी हुन् भने भट्ट दार्चुलाकै लाली गाविस वडा नम्बर पाँच निवासी रहेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी नेकपा (एमाले) को भातृ संस्था युवा संघ डोटीका अध्यक्ष निलम साउँदले पनि पार्टी परित्याग गरेर कांग्रेसको सदस्यता लिएकी छिन् । साउँदलाई पनि सभापति देउवाले कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।
सदस्यता वितरण कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला लगायत केन्द्रीय सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।












प्रतिक्रिया